कोरोना विरुद्धको खोप लगाउँदै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डाक्टर नितेशकुमार कनोडिया । तस्विर : सेतोखरी
नेपालगन्ज १५ माघ : भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको भीड लागेकोछ ।
हिजो माघ १४ बुधबारदेखि सरकारले देशभरी एकैसाथ कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु गरेसंगै यतिबेला देशभर खोप लगाउने कार्य जारी छ ।
कोरोना भाइरस विरुद्धको खोप अभियान अन्र्तगत बाँकेमा सञ्चालित खोप अभियान जारी छ । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर प्रकाश थापाले बाँकेमै कोरोना विरुद्धको पहिलो खोप लगाएर खोप अभियानको शुभराम्भ गरेका थिए ।
खोप अभियान अन्र्तगत पहिलो दिन हिजो बुधबार भेरी अस्पतालमा कार्यरत १२० जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । खोप लिन बाँकी रहेका भेरी अस्पतालका कर्मचारीले आज बिहीबार लगाउँदैछन् ।
भेरी अस्पतालमा स्थायी, अस्थायी, करार, ज्यालादारी लगायत गरि चार सयको हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कर्मचारी, सुरक्षा गार्ड लगायत कार्यरत छन् ।
खोप अभियानको पहिलो दिन कोरोना विरुद्धको खोप लगाउनेको संख्या कम भएकाले बाँकीले आज लगाउँदैछन् । चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको समय नमिलेर बुधवार खोप लगाउन छुटेकाहरु आज लगाउँदैछन् ।
यस्तै अभियान अन्र्तगत आज बिहीवार बाँकेको नरैनापुर, डुडुवा गाउँपालिका र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीलाई खोप लगाइदैँछ ।
बिहीबार सात सय ५० जनालाई खोप लगाउने योजना छ । कोरोना विरुद्धको खोप अभियान अन्र्तगत यतिबेला नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलाई लगाउने काम भइरहेकोछ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डाक्टर नितेशकुमार कनोडिया, डाक्टर सुभाष योगी तथा नेपालगन्ज मेडिकल कलेजका प्रशासन प्रमुख कुमार अधिकारीले कोरोना विरुद्धको खोप लगाएकाछन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डाक्टर नितेशकुमार कनोडियाका अनुसार कोरोना विरुद्धको खोप आज लगाउन छुटेकालाई भोली पनि लगाउने योजना छ ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप लगाउन अस्पतालले समयतालिका समेत सार्वजनिक गरेकोछ ।