लामो समय बाँच्ने १५ उपाय


सेतोखरी सेतोखरी   बिहीबार, मंसिर २७, २०७५
लामो समय बाँच्ने १५ उपाय

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन् । यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः
१. चिया पिउनुहोस्ः
चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ । इजरायलमा भएको अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ ।
२. हरेक दिन विहान एउटा खुट्टाले उभिनुहोस्ः
सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडा लगाउने बेलामा एउटा मात्र खुट्टाले उभिएर शरीर सन्तुलित बनाउनाले ढाड, नितम्ब र पेटलाई बलियो बनाउँछ । त्यहाँका मांशपेशीले मेरुदण्डलाई ठीक सरहन सहयोग गर्छ ।
३. सातामा कम्तीमा दुईपल्ट यौनसम्पर्क राख्नुहोस्ः
एक अध्ययनले महिनामा एकभन्दा कम चोटी यौनसम्पर्क राख्ने मानिसहरु सातामा दुईपल्ट राख्नेभन्दा चाँडै मरेको देखाएको छ । स्वास्थ्यको लाभबाहेक नियमित रुपमा स्वस्थ्य यौनजीवन भएका मानिस सात वर्ष जवान देखिने रोयल इडिनवर्ग अस्पतालले गरेको एक अध्ययनले देखाएको छ । यौनसम्पर्कले तनाव घटाउने, राम्रो सम्वन्ध बनाउने र निद्रा राम्रोसँग लगाउने भएकाले पनि यस्तो हुने अध्ययनले जनाएको छ ।
४. दिनको तीनवटा ओखर खानुहोस्ः
ओखर सबैभन्दा स्वस्थकर हो किनभने यसमा रोगबाट लड्न सघाउने र कम उमेरको देखाउने एन्टी अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुन्छ । दिनको तीनवटा मात्र ओखर खानाले पूरा फाइदा मिल्छ ।
५. सनस्क्रिकन कम प्रयोग गर्नुहोस्ः
पछिल्लो समयमा घामबाट जोगिन सनस्क्रिकनको प्रयोग गर्ने वा शरीर पूरै छोप्ने चलन बढेको छ । यसले गर्दा शरीरमा भिटामिन ‘डी’को अभाव हुन थालेको छ । यसले गर्दा मुटुको रोग, ओस्टेपोरोसिस र क्यान्सरजस्ता रोगको जोखिम बढ्दो छ । क्यान्सर रिसर्च युकेले मध्य दिनमा सनस्क्रिकनबिना १५ देखि २० मिनेटसम्म घाममा रहन सुझाव दिएको छ ।
६. भर पर्नसक्ने ६ जना साथी बनाउनुहोस्ः
नजिकको मित्रता र परिवारसँगको सुमधुर सम्वन्धले लामो समय बाँच्न सहयोग गर्छ । साथीहरुले भावनात्मक सहयोग दिन्छन् जसले तनावको बेला धेरै सहयोग गर्छ । त्यस्तै, मायाको भावनाले शरीरमा डोपामाइन र अक्सिटोसिनजस्ता रसायनको उत्पादन हुन्छ जसले मस्तिष्कको विकासमा सहयोग गर्छ र बुढ्यौली देखिनबाट जोगाउँछ ।
७. ८० प्रतिशत पेट भरिएपछि खान रोक्नुहोस्ः
तपाईंले खाना खाँदै गर्दा ८० प्रतिशत पेट भरिएपछि खान छोड्नुहोस् । यसले गर्दा तौल नियन्त्रण गर्न पनि सघाउँछ । ठिक्क खाना खानाले शरीरको कार्यसञ्चालन प्रक्रियालाई थप भार पर्दैन, जसले स्वस्थ रहन सहयोग गर्छ ।
८. सम्भव हुन्छ भने एक घन्टा चाँडो सुत्नुहोस्ः
थोरै सुत्नाले डिप्रेसन र मुटुजस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ । त्यसैले, सुत्ने बानीमा परिवर्तन गर्नाले हृदयघात, पक्षघात, रक्तचाप लगायतका स्वास्थ्य समस्याबाट जोगाउँछ । त्यसैले, सम्भव हुन्छ भने एक घन्टा चाँडो सुत्ने प्रयास गर्नुहोस् ।
९. फ्रिजमा फलफूल नराख्नुहोस्ः
फ्रिजमा फलफूल राख्नाले लामो समयसम्म विग्रिँदैन भन्ने लाग्ला तर अध्ययनहरुले कोठाको तापक्रममा राखेको फलफूलको तुलनामा फ्रिजमा राखिएका फलफूलमा स्वास्थ्यलाई राम्रो बनाउन सघाउने तत्व कम हुन्छन् । त्यसैले, फ्रिजमा राखिएकाभन्दा ताजा फलफूल खानु स्वास्थ्यको हिसाबले राम्रो हुन्छ ।
१०. सहयोगी हुनुहोस्ः
अरुलाई सहयोग गर्नाले आफूलाई आनन्द महसुस गर्ने मात्र होइन, स्वास्थ्यमा पनि फाइदा पु¥याउँछ। एउटा दीर्घकालीन अमेरिकी अध्ययनले जीवनकालमा स्वयंसेवा गरेका मानिसहरु नगरेका मानिसको तुलनामा लामो समय बाँचेको देखाएको छ । स्वयंसेवकले कम डिप्रेसन, कम पीडा र तुलनात्मक रुपमा राम्रो स्वास्थ्य महसुस गरेको पनि अध्ययनले देखाएको छ ।
११. फलफूल र शाकाहारी दुई गुणा खानुहोस्ः
युरोपियन हार्ट जर्नलले फलफूल र शाकाहारी खानेकुरा खाने मानिसहरुको मुटुरोगबाट मृत्यु हुने सम्भावना निकै कम भएको देखाएको छ ।
१२. रातीको समयमा एक घन्टा कम टेलिभिजन हेर्नुहोस्ः
अमेरिकी राष्ट्रिय क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकहरुले २५ वर्षको उमेरपछि टेलिभिजन हेर्न कम गर्नुपर्ने बताउँछन् । जति धेरै टेलिभिजन हे¥यो, त्यति नै मात्रामा शरीर स्थिर रहने, मांशपेशीको कसरत नहुने र क्यालोरी खपत नहुने भएकाले यसले विरामी हुने र चाँडो मृत्यु हुने जोखिम बढाउने वैज्ञानिकहरु बताउँछन् ।
१३. दिनमा कम्तीमा २० पल्ट हाँस्नुहोस्ः
हाँस्नाले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, तनाव उत्पन्न गराउने हर्मोनलाई कम गर्छ र क्यान्सरविरुद्ध लड्ने किलर टी सेलहरुलाई उत्प्रेरित गर्छ । वयस्कहरु औसतमा दिनको पाँचदेखि १५ चोटी हाँस्छन् भने बच्चाहरु भने दिनमा एक सयपटकभन्दा धेरै चोटी हाँस्छन् ।
१४. धुमपान त्याग्नुहोस्ः
फिनल्यान्डमा भएको एक अध्ययनले धुमपान गर्नाले जीवनलाई १० वर्ष छोटो बनाउने मात्र नभई वृद्धावस्थामा जीवनको गुणस्तरलाई घटाउने देखाएको छ ।
१५. केही कुरामा विश्वास राख्नुहोस्ः
हजारौं अध्ययनले विश्वास र दीर्घायुको बीचमा सम्वन्ध रहेको देखाएका छन् । गहिरो विश्वासले मानिसहरुलाई तनाव र भावनात्मक समस्यासँग लड्न सहयोग गर्छ । यसले मुटु, श्वासप्रश्वास र पाचन समस्याबाट लड्नका लागि पनि उत्तिकै सहयोग गर्छ ।

Kanti Aarogya Hospital Nepalgunj