कोरोना विरुद्धको खोप अभियान

देशभर ४६ हजार बढिले खोप लगाए, बाँकेका १० जनामा साइडइफेक्ट


देशभर ४६ हजार बढिले खोप लगाए, बाँकेका १० जनामा साइडइफेक्ट

नेपालगन्ज १६ माघ : कोरोना भाइरस विरुद्धको खोप अभियान अन्र्तगत तेस्रो दिन शुक्रबार बेलुकासम्ममा देशभरका ४६ हजार बढीले खोप लगाएका छन् । देशका ७७ जिल्लाका एक सय ६९ खोप केन्द्रहरुबाट ४६ हजार एक सय ९७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन् ।

खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापनका लागि देशभरीबाटै विज्ञ चिकित्सकहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

हरेक अस्पतालहरुमा संभाव्य घटनाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ । यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या देखिएको छैन । ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यसैबीच, बाँकेमा कोरोना विरुद्धको खोप लगाएका १० जनामा साइडइफेक्ट देखिएको छ । नेपालगन्ज मेडिकल कलेजका चिकित्सक, नर्स र सरसफाइकर्मीमा साइडइफेक्ट देखिएको हो ।

बाँकेमा दुईदिनको अवधिमा करिब सातसयले खोप लगाएका छन् । तीमध्ये १० जनामा वान्ता हुने, ज्वरो आउने र टाउको दुख्ने समस्या पाइएको छ ।

उनीहरुमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् भने सात जना उपचारकै क्रममा छन् । उनीहरुरुको अवस्थामा सुधार हुँदै गएको डिस्चार्जको तयारी भइरहेको नेपालगन्ज मेडिकल कलेजका सहयाक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले जानकारी दिए ।

डाक्टर कनोडियाले बिहीबार मात्रै उक्त खोप लगाएका थिए । खोप लगाइसकेपछि शरीरमा सामान्य इफेक्ट भएको उनले बताए ।

खोप लगाइसकेपछिको अनुभव सुनाउदै डाक्टर कनोडियाले भने ‘मैले हिजो खोप लगाएको थिए, राती सामान्य ज्वरो आयो । पछि आफै ठिक भयो । उनले अगाडी भने ‘कोरोना विरुद्धको खोपमात्र होइन अन्य खोप लगाउँदा पनि यस्तो असर देखिन्छ । त्यसैले आत्तिहाल्नुपर्ने हुदैन ।’

भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले पनि कोरोना भाइरस बिरुद्धको खोपमात्र नभएर जुनसुकै खोप लगाउँदा पनि सामान्य इफेक्ट आए आत्तिनु पर्ने अवस्था नरहेको बताए । बाँकेमा कोरोना विरुद्धको पहिलो खोप भेरी अस्पतालका मेसु डाक्टर थापाले नै लगाएका थिए ।

उनका अनुसार शरीरमा इम्युनिटीपावर कम भएकालाई केही असर देखिन सक्छ यद्यपी भ्याक्सिन लगाएका धेरैजसोमा हल्का ज्वरो आएको, टाउको दुखेको खबरहरु आएका छन् । यद्यपी डराउनुपर्ने हुदैन । गाह्रो नै भएमा चिकित्सकसंग परामर्श गरिहाल्नुपर्छ ।