‘भारतले नेपाललाई दिएकोे कोरोना विरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी’

चिम्पान्जीबाट निकालिएको, के हो कोभिशिल्ड ? यसले कसरी काम गर्छ ?


‘भारतले नेपाललाई दिएकोे कोरोना विरुद्धको खोप ९० प्रतिशतसम्म प्रभावकारी’

नेपालगन्ज १८ माघ : संसारकै सबैभन्दा ठूलो खोप अभियान शुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ ।

नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन् । भारतको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ ।

आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका ६० प्रतिशत खोप उत्पादन गर्छ ।

कोभिशील्डले कसरी काम गर्छ ?

Kanti Aarogya Hospital Nepalgunj

अक्सफर्ड–आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो । यसले वार्षिक पाँच करोड मात्रा खोप उत्पादन गर्ने दाबी गर्छ । कोभिशील्ड नाम दिइएको खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसमा आधारित छ । सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर, त्यसले सङ्क्रमण गर्दैन ।

खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले गर्दा एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्छन् ।

एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ र यसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ । त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिन सकिन्छ । यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ ।

फाइजर–बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ र धेरै यताउता गर्न मिल्दैन जसले यो नेपाल र भारतजस्ता देशका लागि चुनौतीपूर्ण छ ।

कोभिशील्ड कति प्रभावकारी छ ?

अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । तर, आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएको बताइएको छ । तर, अप्रकाशित तथ्याङ्क अनुसार दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यति प्रभावकारी हुने देखिएको छ ।

त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । सिरम इन्स्टिट्यूटले ब्रजिल र यूकेमा गरिएको परीक्षणको तथ्याङ्क अगाडि सारेर कोभिशील्ड अत्यधिक प्रभावकारी रहेको दावी गरेको छ ।

तर, भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदै आएको छ ।

कम्पनीले खोपको भारतीय परीक्षण फेब्रुअरीमा गर्ने बताएको छ । तर, केही विज्ञले अन्य देशमा गरिएको परीक्षण अनुसार काम नगर्ने सम्भावना कम भएको बताउँछन् ।

कुन–कुन देशमा भारतीय खोप ?

भारतले नेपाल, भुटान, मालदिभ्स, बाङ्गलादेश, म्यानमार र सेसल्समा यो खोप पठाइसकेको छ । श्रीलङ्का, अफगानिस्तान र मरिशसमा पनि त्यहाँको औषधि नियामकले अनुमति दिएपछि पठाइने बताइएको छ । भारतले ब्रजिलमा व्यावसायिक निर्यात गर्न अनुमति दिएको छ ।

भारतीय विदेश मन्त्रालयले देशभित्रको आवश्यकता र अन्तर्राष्ट्रिय माग हेरेर संसारभरि खोप पठाउने बताएको छ ।

कोभ्याक्सिनको कुरो के हो ?

कोभ्याक्सिन भारतमै विकसित खोप हो। भारत बायोटेक २४ वर्ष पुरानो खोप निर्माता हो जसले १६ प्रकारका खोप निर्माण गर्छ र १२३ देशमा निर्यात गर्छ ।

यो कोरोनाभाइरसमा आधारित खोप हो जुन निष्क्रिय भएकोले शरीरमा हाल्न मिल्छ। कम्पनीले भारतको न्याश्नल इन्स्टिट्यूट अफ भाइरोलोजीले एक्लाएको कोरोनाभाइरस प्रयोग गर्छ । शरीरमा हालेपछि रोग प्रतिरोधी क्षमताले कोरोनाभाइरस चिनेर त्यस विरुद्ध सक्रिय हुन्छ ।

यसको दुई मात्रा चार साताको फरकमा दिइन्छ र यो पनि २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा राख्न सकिन्छ । कम्पनीले आफूसँग दुई करोड मात्रा कोभ्याक्सिन भएको बताएको छ ।

किन कोभ्याक्सिनमा शङ्का ?

कोभ्याक्सिनलाई परीक्षणका चरणहरू नै पूरा नभई अनुमति दिइएपछि यो विवादमा छ । विज्ञहरूले परीक्षणमै रहँदा कसरी लाखौँ व्यक्तिलाई लगाउन आपत्कालीन अनुमति दिन सकिन्छ भनेर प्रश्न उठाएका छन् । तर, दुवै उत्पादक र नियामकले यसलाई सुरक्षित भएको बताएका छन् । –विविसी नेपाली सेवाबाट