नेपालगन्ज १८ माघ : नेपालगन्ज उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय आगामी तीन दिनसम्म बन्द गरिने भएकोछ ।
पछिल्लो समय मौसममा आएको परिर्वतनसंगै यसक्षेत्रको जनजीवन प्रभावित बनेपछि नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाले अत्याधिक चिसो बढेकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले आईतबार एक सूचना निकालेर भोली माघ १९ गतेदेखि २१ गतेसम्म उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् । चिसो यथावत रहेमा शुक्रबारसम्म विद्यालय बन्द गर्न समेत निर्देशन गरिएको छ ।
सूचनामा भनिएको छ, ‘अत्याधिक चिसो भएको कारणले गर्दा मिति २०७७ माघ १९ गते सोमबारदेखि २०७७ माघ २१ गते बुधबारसम्म तीन दिन विद्यालय विदा गर्ने र मौसम अनुकूल भइ घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय पुनः सञ्चालन गर्ने तर, यस्तै प्रतिकूल मौसम रहेमा माघ २३ गते शुक्रबारसम्म विद्यालयहरुमा विदा गर्ने व्यवस्था मिलाउनु हुन सम्पूर्ण विद्यालयहरुलाई जानकारी गराइन्छ ।’
नेपालगन्जमा केही दिनयता चिसो बढेको छ । यहाँको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आईतबारको न्यूनतम तापक्रम ५ डिग्री रहेको छ । चिसोमा विशेषगरि बृद्धबृद्धा, बालबालिका र विरामीलाई असर पर्ने भएकाले केही दिन विद्यालय बन्द गर्न निर्देशन दिइएको हो ।
चिसोका कारण नेपालगन्जको बजार समेत पातलिएकोछ । उपभोक्ता समेत आउन छाडेपछि व्यवसायीहरु आगो बालेर न्यानो बनिरहेकाछन् ।
कोरोना भाइरस संक्रमण र चिसोबाट प्रभावित हुन सक्ने भन्दै यस क्षेत्रका चिकित्सकले उच्च सर्तकता अपनाउन समेत आग्रह गरेकाछन् । चिसोका कारण टाउको दुख्ने, ज्वोरो आउने, पखला लाग्ने लगायतको समस्या हुने हुदाँ प्रयाप्त मात्रामा झोलिलो खानेकुरा खाने, तातो पानी पिउने, न्यानो लुगा लगाउने लगायतका सावधानी अपनाउन उनीहरुले आग्रह गरेका छन् ।