नेपालगन्ज १८ माघ : नेपालमा थप एक सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार अध्यावधि गरेको तथ्यांकमा देशभर थप एक सय ५ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ८ जनाको पीसिआर परीक्षण गर्दा एक सय ५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको मन्त्रालयले जनाएकोछ ।
यस्तै मन्त्रालयका अनुसार आईतबार देशभर थप २ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ । हाल देशभर एक सय २ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल एक सय ६८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसमा एक सय ४३ जना आइसियु र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन् । भने यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् । यस्तै प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा ४२ जना आइसियु र १३ जना भेन्टिलेटरमा, गण्डकीमा ६७ जना आइसियु र ७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३१ जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेका छन् ।
कर्णाली प्रदेशमा १ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।