नेपालगन्ज २० माघ : भेरी अस्पताल नेपालगन्जमा चिकित्सक तथा नर्सिङ स्टाफमाथी हातपात र दुव्र्यवहार गर्नेहरुको पहिचान गरि कानूनी कारबाही गर्न अस्पताल बिकास समितीले माग गरेको छ ।
ज्ञानेन्द्र शाही अस्पतालका मेसु डाक्टर प्रकाश थापासँग अस्पतालको विभिन्न बिषयमा छलफल गरिएका बेला शाहीसंगै आएका शिव सुबेदीसहितका युवाले नर्सिङ युनिटमा हुलहुज्जत गर्दै चिकित्सक तथा नर्सिङ स्टाफमाथी हातपात र दुव्र्यवहार गरेका थिए । नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथी हातपात र दुव्र्यवहार हुनु निन्दनीय भएको अस्पताल बिकास समितिले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
अस्पताल बिकास समितिका सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ, धनराम ओली , सरस्वती मल्ल र मेसु डाक्टर प्रकाश थापाद्वारा जारी बिज्ञप्तीमा घटनामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नको पहिचान गरि कारबाही गर्न माग गरिएको छ ।
यसैबीच, नेपाल चिकित्सक संघ भेरी शाखाले भेरी अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफ माथि गरेको दुव्र्यवहार तथा हातपातप्रति ध्यानाकर्षण जनाउदै दोषीलाई कारबाही गर्न समेत माग गरेकोछ ।
संघका अध्यक्ष डाक्टर बिनोद कर्णले एक विज्ञप्ति जारी गरि अस्पतालमा भएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेकाछन् ।
कोरोना महामारीमा समेत कुनै प्रवाह नगरी आफ्नो चिकित्सकीय मर्यादा पालना गर्दा गर्दै चिकित्सक र नर्सिङ कर्मचारीलाई नै हातपात गर्ने प्रवृतिले चिकित्सकीय पेशा असुरक्षित हुन पुगेको संघका अध्यक्ष कर्णद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
संघले स्वास्थ्यकर्मीमाथि हुने अपराधिक क्रियाकलापहरु यथाशिघ्र बन्द गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कानूनी कारवाही गर्न संघले माग गरेको छ । चिकित्सक एवं स्वास्थ्यकर्मीको पेशागत सुरक्षाको लागि नेपाल चिकित्सक संघ भेरी शाखा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी संघले दिएको छ ।
अस्पतालजस्ता संवेदनशील ठाउँमा भीड लिएर आउने, उपचाररत बिरामी र कुरुवालाई उस्काउने र ड्युटीमा खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मी हातपात गर्ने काम अझैं रोकिएको छैन ।
यस्तो थियो घटना
सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसँगै सोमबार भेरी अस्पताल पुगेका युवाहरुले फिजिसियन डाक्टर विपिन आचार्य, नर्स देवा जिसीसहित तीन जनामाथि हातपात तथा दुव्र्यवहार गरे ।
अस्पतालको नर्सिङ स्टेशनमा सोमवार ११ बजेतिर केही युवाहरु पुगे । जुम्लाको एकजना विरामीको बिषयलाई लिएर ती युवाहरुले नर्सिङ स्टाफहरुलाई जथाभावी बोल्न थाले । राउण्ड सक्काएर स्टेशनमा रेस्ट गरिरहेका डाक्टर आचार्यले ती युवाहरुलाई सम्झाउँन खोज्दा कठालो समातेर हातपात गरेका थिए ।