नेपालगन्ज २२ माघ : नेपालमा पछिल्लो समय थप एक सय ७१ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशरभ ३ हजार ८७८ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५७३ पुगेको छ । हालसम्म देशभर कुल २ हजार २ सय ७७ जना सक्रिय संक्रमित रहेकाछन् ।
पछिल्लो २४ घण्टामा मात्र २ जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेकोछ ।
मन्त्रालयका अनुसार देशभर ९२ जना क्वारेन्टिनमा रहँदा देशभरबाट थप २२७ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ ।
यस्तै, देशभर ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ र २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा ३० जना आइसियु र ११ जना भेन्टिलेटरमा, गण्डकीमा ५ जना आइसियुमा, लुम्बिनी प्रदेशमा २४ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा एकजना आइसियुमा रहेका छन् भने यहाँ कुनै पनि बिरामी भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।