डोटीमा सेनिटरी प्याड उत्पादन सुरु


डोटीमा सेनिटरी प्याड उत्पादन सुरु

डोटी २२ माघ : महिनावारी भएका बेलामा प्रयोग गरिने सेनिटरी प्याड बनाउन सुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेसिन जडान गरिएको हो ।

मेसिन जडान भएपछि डोटीमा पहिलो पटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ ।

सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरूको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिए ।

उनले भने, ’प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन्, उनीहरूका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकुन् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौँ, महिनावारी भएका छात्रालाई विशेष सहज हुनेछ ।’ कम्तीमा पनि रु ११ लाख ५० हजारको लागतमा उक्त उद्योग सञ्चालन गरिएको उनको भनाइ छ ।

उद्योगमा अहिले तीन कर्मचारीले पहिलो पटक ११ कामदारलाई प्याड बनाउने तालिम दिन सुरु गरिएको छ । जिल्लामै सेनिटरी प्याड उत्पादन गर्न सुरु गरिएपछि प्याडको प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दै गएको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीयवासी तथा नेकपाका नेता नारद मलासीले बताए ।

‘महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कुल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कुल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्नेछ,’ उनले भने ।

डोटीमा उत्पादित प्याड डोटी जिल्लासँगै छिमेकी जिल्लामा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएर काम गरे राम्रो प्रभाव पर्ने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।

‘सेनिटरी प्याड उत्पादन गुणस्तरीय तथा राम्रो गरिए बजारका लागि खोजी गर्नुपर्ने समस्या आउँदैन, राम्रो उत्पादन गरिए जिल्ला बाहिरसमेत निर्यात हुनेछ, महिलाका समस्या पनि समाधान हुनेछन्,’ उनले भने । पछिल्लो समय जिल्लामा सेनिटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाको सङ्ख्या बढ्दै गएको छ ।

जिल्लामा प्याड उत्पादन गर्ने उद्योग नभएका कारण यहाँका किशोरी तथा महिलाले देशका विभिन्न सहरका साथै भारतबाट निर्यात गरिएका सस्तो खालका सेनिटरी प्याड प्रयोग गर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय लक्ष्मी रावलले बताए ।

‘जिल्लामै प्याड उत्पादन गर्ने उद्योग थिएन, हामीलाई प्याड नभई नहुने, वर्षौँदेखि हामीले भारत तथा देशका विभिन्न सहरबाट सस्तो प्याड किनेर प्रयोग गर्दै आएका थियौँ, त्यही पनि सबैलाई पहुँच थिएन, अब त्यो समस्या पनि हटेको छ,’ उनले भने ।

उनका अनुसार अझै पनि जिल्लाको ग्रामीण भेगका किशोरी तथा महिलाले महिनावारी भएको बेला प्याडका रूपमा रुमाल, घरेलु कपडालगायतका वस्तु प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लामा उत्पादन भएका सेनिटरी प्याड जिल्लाका सबै स्थानीय तहमा बिक्री वितरण गरी त्यसपछि मात्रै जिल्ला बाहिर निर्यात गरिनुपर्ने कांग्रेस नेत्री पार्वती चन्दले जानकारी दिए ।

उनले भने, ’यहाँका सहर बजारभन्दा पनि गाउँघरमा प्याडको बढी खाँचो छ, यहाँ उत्पादन भएका प्याड पहिला गाउँगाउँमा पु¥याउने र त्यसपछि मात्रै जिल्ला बाहिर पठाए निकै राम्रो हुनेछ ।’ -रासस