नरैनापुर (बाँके) २२ माघः नरैनापुरको प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा सुरु भएको छ । वडा नम्बर २ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा शुरु गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले एक कार्यक्रमका वीच इमर्जेन्सी सेवाको शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष शाहले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका सधैं तत्पर रहेको बताए ।
बहिरंग सेवा प्रदान गर्दै आइरहेको स्वास्थ्य केन्द्रले इमर्जेन्सी सेवा सुरु गर्दा गाउँपालिकावासीलाई अब निकै सहज हुने अध्यक्ष शाहले बताए ।
उद्घाटन कार्यक्रममा भेरी अस्पताल नेपालगन्जकी नर्सिङ निर्देशक दुर्गालक्ष्मी श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही लगायतले आफ्ना विचार राखेको स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिए ।
उद्घाटन कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख शाहले गरेका थिए ।
पछिल्लो ६ महिना अघिसम्म बाटो, विद्युत तथा स्वास्थ्य केन्द्रमा दक्ष जनशक्तिको अभावमा नरैनपुरका जनताले सीमावर्ती भारतीय बजारमा भर पर्नुको साथै अकालमा ज्यान समेत गुमाउनु परेको अवस्था अव सदाको लागि अन्त्य समेत भएको छ ।