नेपालगन्ज २३ माघ : नेपालमा एक सय ५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि हुदाँ थप दुईजनाको मृत्यु भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा थप एक सय ५ जनामा कोरोना पुष्टि भएको हो ।
देशभर शुक्रबार थपिएका कोरोना संक्रमितसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७ सय ९९ जनाको पीसिआर परीक्षण गरिएको छ भने नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ८८ हजार ३ सय ७२ पुग्दा कुल संक्रमित मृतकको संख्या २ हजार ३५ पुगेको छ । हाल ९२ जना क्वारेन्टिनमा छन् ।
गत २४ घण्टामा २ सय ७२ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६४ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा ३१ आइसियु र ९ भेन्टिलेटरमा, गण्डकीमा ५ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २६ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।