पहिलो चरणमा एक लाख ८४ हजार ८५ जनाले खोप लगाए, प्रेस पास देखाएर खोप लगाउन पाइने, दोस्रो चरणको खोप फागुन १ गतेदेखि शुरु हुने
File Photo
नेपालगन्ज २५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको कोभिड विरुद्धको खोप अभियान सोमबारदेखि शुरु गर्ने तयारी गरेको छ ।
मन्त्रालयद्वारा सञ्चालित पहिलो चरणको अभियान शनिबारबाट सकिएको छ । तर, पहिलो चरणका लागि ल्याइएको खोप बचेपछि सरकारले यस अन्तर्गत नै सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको छ ।
नेपालमा पहिलो चरणको खोप अभियानमा गत माघ १४ गतेदेखि शुरु गरेको थियो । सरकारले पहिलो चरणमा लक्षित वर्गको संख्या पुरा नभएपछि बचेको खोप कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई लगाउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रलायको बैठकले सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको हो । उनीहरुको संख्या धेरै नहुने भएकाले बचेको खोपले पुग्ने मन्त्रालयको भनाई छ ।
प्रेस पास देखाएर खोप लगाउन पाइने
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो पहिलो चरणकै खोप अभियानको निरन्तरता भएको बताए । उनले पाटन अस्पतालमा युनएन एजेन्सीमा काम गर्ने स्वदेशी तथा विदेशी कर्मचारी र तिनका परिवारलाई खोप दिने तय गरिएको जानकारी दिए ।
त्यसैगरि, टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई र सिभिल अस्पतालमा पत्रकारहरुलाई खोप दिने योजना बनाइएको प्रवक्ता गौतमले बताए ।
कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा र पत्रकारले सूचना विभागको प्रेस पास देखाएर खोप लगाउन सक्ने बताइएको छ ।
दोस्रो चरणको खोप फागुन १ गतेदेखि शुरु हुने
स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान फागुन १ गतेबाट गर्नेबारे छलफल भएको र प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने,‘दोस्रो चरणमा हामीले पहिल्यै नै निर्धारण गरेका प्राथमिकताका व्यक्तिलाई खोप दिने कार्य फागुन १ गतेपछि सुरु गर्ने कि भनेर छलफल भइरहेको छ । तर, भोलिदेखि नै कुटनीतिक नियोग, युनएनका कर्मचारी र पत्रकारलाई दिइने छ ।’
पहिलो चरणमा एक लाख ८४ हजार ८५ जनाले खोप लगाए
सरकारले उक्त खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स, शव वाहन चालक, करागारमा रहेका व्यक्ति गरी ४ लाख ३० हजारलाई दिने योजना बनाएको थियो ।
तर, सरकारले अपेक्षा गरेको जस्तो खोप अभियानमा सहभागी हुनेको संख्या निकै कम देखिएको छ । हलसम्म एक लाख ८४ हजार ८५ जनाले कोभिड विरुद्धको खोप लगाइसकेका छन् ।
जसअनुसार प्रदेश नम्बर १ मा २४ हजार २२४, प्रदेश नम्बर २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढि बागमती प्रदेश र दोस्रोमा लुम्बिनी प्रदेशका जनताले खोप लगाएकाछन् ।
गत माघ ८ गते भारत सरकारले अनुदान अनुदन सहयता स्वरुप उपलब्ध गराएको खोप नेपाल आएपछि खोप अभियान सुरु भएको थियो । भारतले अक्र्सफोर्ड एस्ट्राजेनिका र भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड १० लाख डोज खोप अनुदान स्वरुप नेपाललाई दिएको हो ।