बागमती प्रदेश र लुम्बिनी प्रदेशका आइसियु र भेन्टिलेटरमा बढि संक्रमित
नेपालगन्ज २५ माघ : नेपालमा थप एक सय १९ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक सय १९ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन् ।
देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ५१ जनाको पीसिआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४ सय १७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ३८ पुगेको छ । हाल ९२ जना क्वारेन्टिनमा रहेकाछन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर हाल ६७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । जसमध्ये ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आईतबार अध्यावधि गरेको तथ्यांक अनुसार प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा २५ जना आइसियु र ८ जना भेन्टिलेटरमा रहँदा गण्डकी प्रदेशमा ३ जना संक्रमित मात्र आइसियुमा रहेकाछन् । यस्तै लुम्बिनी प्रदेशमा २६ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसरी हेर्दा सबै भन्दा बढि बागमती प्रदेश र दोस्रोमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेकाछन् । मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।