चितवनका जनप्रतिनिधिलाई राम–सीताको मूर्ति देखाएपछि सामुहिक तस्विर खिचाउदै प्रधानमन्त्री केपी शर्मा ओली ।
नेपालगन्ज २५ माघ: चितवनको अयोध्यापुरीमा राख्नका लागि राम र सीताको पूर्णकदको मूर्ति तयार भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धताअनुसार चितवनको अयोध्यापुरीमा राख्न उक्त मूर्ति तयार पारिएको हो । लक्ष्मण र हनुमानको मूर्ति पनि तयार हुदैछ ।
अयोध्यापुरी क्षेत्रका नेता तथा जनप्रतिनिधिहरुबीच बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति देखाएका थिए ।
प्रधानमन्त्री ओलीले माघ १७ गते चितनवमा आयोजित कार्यक्रममा राम र सीताको मूर्ति राख्ने कुरा उठाएका थिए । सो क्षेत्रबाट निर्वाचित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय नउठाएको भन्दै ओलीले प्रचण्डको कडा आलोचना गरेका थिए ।
प्रधानमन्त्री ओलीले गत असारमा भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भगवान रामको जन्म ठोरीमा भएको बताएका थिए । उनले रामको जन्मभूमि अयोध्या ठोरीमै भएको दावी गरेका थिए ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भारतमा भने आलोचना भएको थियो । भारतीयहरुले उत्तरप्रदेश राज्यको अयोध्यामा भएको बताउँदै आएको छन् ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनालाई आघात गर्नका लागि नदिएको भन्दै बचाऊ गरेको थियो । भारतसँग सीमाको विषयमा तनाव बढीरहेको समयमा प्रधानमन्त्री ओलीबाट आएको अभिव्यक्तिले झनै समस्या पार्ने विश्लषण त्यस समयमा भएको थियो ।
प्रधानमन्त्री ओलीले साउनको अन्तिम साता स्थानीय तहको प्रतिनिधिहरुलाई भेट्दै सो क्षेत्रको विकासका लागि सरकारले पूर्ण सहयोग हुने बताएका थिए ।