कोरोना विरुद्धको खोप अभियान

मापदण्ड मिचेर पत्रकारलाई खोप लगाईदैं


मापदण्ड मिचेर पत्रकारलाई खोप लगाईदैं

File Photo

नेपालगन्ज २५ माघः सरकारले प्राथमिकता मिचेर जेष्ठ नागरिकभन्दा पहिले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिदैँछ । कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत सरकारले (आज) सोमबारदेखि पहिलो चरण अन्र्तगत बचेकोे खोप अभियान शुरु गर्दैछ ।

पहिलो चरणको अभियान शनिबारबाट सकिएको भएपनि पहिलो चरणका लागि ल्याइएको खोप बचेपछि सरकारले यस अन्तर्गत कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोभिड विरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

सरकारले तय गरेको खोप पाउने प्राथमिकताको सूचीमा पत्रकार, कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारीभन्दा जेष्ठ नागरिक माथि छन् । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाउने र दोस्रो चरणमा ५५ वर्ष माथिका जेष्ठ नागरिक र दीर्घ रोगीहरूलाई खोप दिने भनेको थियो ।

स्वास्थ्य मन्त्रालयले अहिले उक्त प्राथमिकतालाई मिचेर पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको हो । मन्त्रालयले झण्डै १९ हजार त्यस्ता व्यक्तिहरूलाई खोप दिने जनाएको छ । त्यसका लागि उपत्यकाका चार वटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालमा पहिलो चरणको खोप अभियानमा गत माघ १४ गतेदेखि शुरु गरेको थियो । सरकारले पहिलो चरणमा लक्षित वर्गको संख्या पुरा नभएपछि बचेको खोप कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई लगाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रलायको बैठकले (आज) सोमबारदेखि कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने निर्णय गरेको हो । उनीहरुको संख्या धेरै नहुने भएकाले बचेको खोपले पुग्ने मन्त्रालयको भनाई छ ।

प्रेस पास देखाएर खोप लगाउन पाइने

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो पहिलो चरणकै खोप अभियानको निरन्तरता भएको बताए । उनले पाटन अस्पतालमा युनएन एजेन्सीमा काम गर्ने स्वदेशी तथा विदेशी कर्मचारी र तिनका परिवारलाई खोप दिने तय गरिएको जानकारी दिए ।

त्यसैगरि, टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई र सिभिल अस्पतालमा पत्रकारहरुलाई खोप दिने योजना बनाइएको प्रवक्ता गौतमले बताए ।

कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा र पत्रकारले सूचना विभागको प्रेस पास देखाएर खोप लगाउन सक्ने बताइएको छ ।

दोस्रो चरणको खोप फागुन १ गतेदेखि शुरु हुने

स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान फागुन १ गतेबाट गर्नेबारे छलफल भएको र प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने,‘दोस्रो चरणमा हामीले पहिल्यै नै निर्धारण गरेका प्राथमिकताका व्यक्तिलाई खोप दिने कार्य फागुन १ गतेपछि सुरु गर्ने कि भनेर छलफल भइरहेको छ । तर, भोलिदेखि नै कुटनीतिक नियोग, युनएनका कर्मचारी र पत्रकारलाई दिइने छ ।’

कोभ्याक्सको खोप तीन हप्ताभित्र, सिरमको खोप आउने सम्भावना प्रबल

विश्व स्वास्थ्य संगठनको पहलमा ग्लोबल भ्याक्सिन अलायन्स गाभी अन्तर्गतको कोभ्याक्स खोप नेपालमा मार्चको पहिलो साताभित्र आइपुग्ने पनि मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए । डाक्टर गौतम भन्छन्, ‘हाम्रो पूर्वाधार र सहजतालाई हेरेर नेपालमा अहिले प्रयोग भइरहेको खोप नै ल्याउन पहल गरेका छौँ ।’

नेपालमा अहिले प्रयोग भइरहेको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप फेब्रुअरी अन्तिम सम्ममा कोभ्याक्सलाई उपलब्ध गराउने सम्झौता भएको छ । कोभ्याक्सको खोप पाउने मुलुकहरुको पहिलो प्राथमिकता सूचीमा नेपाल पनि सूचीकृत छ । जसमा नेपालका लागि २२ लाख ५६ हजार डोज खोप छुट्ट्याइएको छ ।

कोभ्याक्सले उपलब्ध गराउने खोपमा नेपालले कुनै शुल्क तिर्नुपर्ने छैन । यो खोप ज्येष्ठ नागरिक, दीर्घरोगी लगायतका २० प्रतिशत नागरिकलाई दिने सरकारको योजना छ ।