रुक्मिणी स्मृती अक्षय कोषबाट बिपन्नलाई सहयोग


रुक्मिणी स्मृती अक्षय कोषबाट बिपन्नलाई सहयोग

नेपालगन्ज २६ माघ : बासकी पूर्ब केन्द्रीय सदस्य स्वर्गीय रुक्मिणी शाहको जन्मदिनमा एक जना बिपन्न परिवारलाई सहयोग गरिएकोछ । बासले स्थापना गरेको ‘रुक्मिणी स्मृती अक्षय कोष’बाट बाँकेको कोहलपुर निवासी सावित्री महरलाई १० हजारको चेक हस्तान्तरण गरिएको हो ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निवर्तमान अध्यक्ष मन भण्डारी, केन्द्रीय महासचिब शिबकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, असल शासन मिडिया प्रालीका प्रबन्ध निर्देशक किरण कार्की लगायतले उक्त सहयोग संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

कोहलपुर–१२ निवासी सावित्री आर्थिक अवस्था कमजोर भएकी महिला हुन् । श्रीमानको निधन भएपछि उनी एकल रुपमा जीवनयापन गरिरहेकी छिन् । १ छोरा र २ छोरीकी आमा सावित्री घरखर्चको जोहो गर्न अरुको घरमा काम गर्ने, मजदूरी गर्ने लगायतको काम गर्दै आएकी छन् । कमजोर आर्थिक अवस्थाको कारण छोरा र छोरी पढ्नबाट बञ्चित भएका छन् । आर्थिक अवस्था कम्जोर भएकै कारण ५ कक्षामा पढ्ने छोराले पढाइ छोड्नुपरेको उनको भनाइ छ ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए । बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता थियो ।

Kanti Aarogya Hospital Nepalgunj

शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ । शाहको सम्मानमा बासले १ लाख ११ हजारको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदोमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगायतले उनको दिउँसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।

यसैगरी सामाजिक विकास तथा प्रवद्र्धन केन्द्रलाई दुइ बोरा (१०० केजी) र भेरी अस्पताल नेपालगन्जभित्र २० रुपैयामा खाना खुआउदै आएको संस्था अंजनी माता रसोइलाई १ सय ५० केजी नुन सहयोग गरिएको छ । अनाथ बालबालिकाहरुको पालन पोषण र पठन पाठनको जिम्मेवारी बहन गर्दै आएको संस्था सामाजिक विकास तथा प्रवद्र्धन केन्दका अध्यक्ष मिन अर्याल र अंजनी माता रसोइका सदस्य राज करणलाई उक्त सहयोग हस्तान्त्रण गरिएको हो ।