राप्तीसोनारी (अगैया) २६ माघः बाँकेको राप्तीसोनारी गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी १६ देखी २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएकाले घोषणा गरिएको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक औपचारिक समारोहका बीच पूर्ण खोप गाउँपालिका भएको घोषणा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिन सक्नुपर्ने बताए ।
उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई गाउँपालिकाले भुल्न नहुने सुझाव दिए । ‘महिला स्वास्थ्य स्वयंसेविकाहरुको यसमा महत्वपुर्ण भुमिका छ, गाउँपालिकाले उहाँहरुको सेवा सुबिधा बढाउनमा कत्तिपनि कन्जुस्याई गर्नु हुदैन,’ श्रीवास्तवले भने । आगामी फागुनमहिना भित्रमा बाँकेलाई नै पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सबैको सहयोग र सहकार्यले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्न सम्भव भएको बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि वार्षिक रुपमा करोडौं बजेट खर्च गर्दै आएको जानकारी गराउँदै उनले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै सेवा, सुबिधा दिइरहेको बताए ।
‘म दाबीका साथ भन्न चाहन्छु, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई हाम्रो गाउँपालिकाले दिएको जति सेवा, सुविधा अन्य पालिकाले दिन सकेका छैनन्,’ उनले भने । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको अध्यक्ष थारुले जोड दिए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सबै गाउँपालिका र नगरपालिकाले पूर्ण खोप पालिका घोषणा गरिसकेपछि फागुन मसान्तसम्म जिल्लालाई घोषणा गरिने बताए । यसका लागि सबै स्थानीय तहले साथ दिनुपर्ने उनको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँ समाजमा अहिले पनि खोपबारे सर्बसाधारण अनविज्ञ रहेको बताइन । खोप लगाउने डरले कतिपय बालबालिका छुटेको हुन सक्ने उनको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले पूर्ण खोप घोषणा गरेपनि समय–समयमा अनुगमन गरिने बताए । ‘अहिले घोषणा गरेपनि पछि कुनै समस्या आउन सक्छन्, यस अभियानमा हामी सक्रिय रुपले लाग्नेछौं, यो घोषणा पूर्ण रुपले कार्यान्वयन होस्,’ उनले भने ।
उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, डब्लुएचओका प्रतिनिधी डाक्टर पवन उपाध्याय, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली लगायतले आफ्नो धारणा राखेका थिए ।
सो क्रममा पूर्ण खोप घोषणाका लागि महत्वपुर्ण योगदान पुर्याए वापत विभिन्न निकाय तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, जिल्ला प्रहरी प्रमुख(एसपी) ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी प्रमुख, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।