अख्तियारको निर्देशन लत्याउँदै बारबर्दियाले दियो निर्माण कम्पनीलाई भुक्तानी, २ महिनामै उप्कियो कालोपत्रे

कमिसनको चक्करमा स्थानीयबासीलाई धम्क्याउँदै नगरपालिका


अख्तियारको निर्देशन लत्याउँदै बारबर्दियाले दियो निर्माण कम्पनीलाई भुक्तानी, २ महिनामै उप्कियो कालोपत्रे

बर्दिया २८ माघ : बारबर्दिया नगरपालिकाले अख्तियारको निर्देशन लत्याउदैँ निर्माण कम्पनीलाई भुक्तानी दिएकोछ । बारबर्दिया नगरपालिकाले सडक निर्माण कम्पनी ब्याक बक कन्स्ट्रक्सन बर्दियालाई भुक्तानी गरेकोछ ।

स्थानीयवासीले बाटो निर्माणमा कमसल सामानको प्रयोग भएको र कालो पत्रे गर्दा अपनाउनु पर्ने सामान्य मापदण्डको पालना नगरेको भन्दै नगरपालिकामा गुनासो गर्दा समेत बेवास्ता गरेपछि अख्तियारमा उजुरी हालेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा परेको उजुरी पश्चात अख्तियारको टोलीले सडक निर्माणको गुणस्तरता र मापदण्डको अनुगमन गर्दै बारबर्दिया नगरपालिका र ब्याक बक कन्स्ट्रक्सन बर्दियालाई काम रोक्न निर्देशन दिएको थियो । तर, अख्तियारको निर्देशनलाई लत्याउदै बारबर्दिया नगरपालिकाले निर्माण कम्पनीलाई भुक्तानी गरेको हो ।

यो घटना बाहिरिएसंगै जनप्रतिनिधिले आफ्नो फाईदा र कमिसनको खेलमा जनताप्रति उत्तरदायित्व भन्दा पनि कमाउ धन्दामा लाग्दा पुष्टि भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

बारबर्दिया नगरपालिकामा विकास निर्माणका लागी गठन गरिने उपभोक्ता समितिमा अन्य वडाका मानिसलाई राखि गरिने विकासले कस्तो संरचना खडा होला आफै अनुमान गर्न सकिन्छ त्यति मात्र होइन नगरपालिकाले निर्माण गरेको कालो पत्रे सडक मर्मत पश्चात हस्तान्तरण भएको २ महिना नपुग्दै उप्किन थालेको छ ।

बारबर्दिया नगरपालिकाले वडा नम्बर–९ सतखलुवा तालदेखि बैदि आउने चोकसम्म निर्माण गरेको कालो पत्रे निर्माण सम्पन्न भई हस्तान्तरण गरेको २ महिना नपुग्दै पिच उप्किएको पाइएकोछ ।

उप्किएको गुणस्तरीयहिन कालोपत्रे सडक देखाउँदै स्थानीय युवा । तस्विरः दीपक शर्मा /सेतोखरी

सगुन मार्ग कालो पत्रे नामाकरण गरी निर्माण गरिएको सो बाटोको कालेपत्रे उप्किएपछि उक्त सडकमा अहिले ट्रिपर, ट्रक र बस लगायतका ठुला गाडि चलेका छैनन् । भने अटो, ट्रयाक्टर तथा मोटरसाइकल जोखिम मोलेर कुद्ने गरेकाछन् ।

अहिले अटो तथा मोटरसाइकिल सम्म मात्र संचालनमा रहेका बेला त यस्तो हालत छ भने ठुला गाडि चलेको खन्डमा के हुने हो यसै भन्न नसकिने स्थानिय वासीहरुको भनाई रहेको छ ।

एक करोड ९३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ लागत रहेको सो सडक कालो पत्रे गर्न कमसल सामान प्रयोग गरिएकै कारण दुई महिनामै उप्किएको स्थानीय ६५ वर्षिय बालकृष्ण चौधरीले बताए ।

बारबर्दिया नगरपालिका र निर्माण कम्पनी विच कमिशनको चक्करले गुणस्तरहिन सडक निर्माण गरिएको भन्दै अख्तियार र सम्बन्धित निकाय मौन बसेकोमा उनले चिन्ता ब्यक्त गरे ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बैदि चोक देखि साढे ३ किलो मिटर उत्तरतर्फ सतखलुवा सिमसार तालसम्म रहेको बाटो मध्ये हाल सिमसारको भवनको गेट देखि दक्षिण तर्फ १६ सय ६० मिटर कालो पत्रे गरिएकोछ । जहाँ सडक निर्माणका लागि कमसल सामान प्रयोग गर्दाे कालो पत्रे आफै निस्कन थालेको छ ।

यतिमात्र होइन बारबर्दिया नगरपालिकाले आफ्नै स्रोत साधनबाट निर्माण गरेका विकास निर्माणका अधिकास कार्य गुणस्तरहिन पाइएको छ । नगरपालिकाले हालसम्म ३ वटा स्थानमा सडक कालो पत्रे निर्माण सम्पन्न गरेको छ । जस अन्तर्गत शहिद मार्ग जयनगरमा ६ सय मिटर, औरीको शहिद मार्ग ९ सय ५४ मिटर र सगुन मार्गमा १६ सय १५ मिटर बाटोमा कालो पत्रे गरिएको छ ।

यी मध्ये नगरपालिकाको कार्यालय अगाडि रहेको शहिद मार्ग होस् वा अन्य कुनै मार्गमा गरिएको कालो पत्रे सबैको अवस्था उस्तैछ । गुणस्तरीहिन सडक निर्माण भएपछि यतिबेला कालोपत्रे आफै उप्किन थालेकोछ । अझ नगरपालिकाले ग्रावेलका क्रममा माटोको अध्याधिक प्रयोग गरेपछि यी सडकका सबै कालो पत्रे अहिले हेर्न लाएक छैनन् ।

सगुन मार्गमा निर्माण गरिएको १६ सय १५ मिटर लम्बाई रहेको कालो पत्रे निर्माण कार्यमा गुणस्तरहनि भएको तथा कालो पत्रे गरिएको बाटो विभिन्न स्थानमा उप्किएका कारण कालो पत्रे गर्ने जिम्मा पाएको ब्याक बक कन्स्ट्रक्शन बर्दियालाइ भने बारबर्दिया नगरपालिकाले भुक्तानि गरिसकेको छ ।

सडकको गुणस्तरताका विषयमा ब्यापक जनगुनासो बढ्दा अख्तियारले आफ्नो चासो देखाएपछि नगरपालिकाले बाध्य भएर कालो पत्रे निर्माण कम्पनि ब्याक बक कन्स्ट्रक्सनलाई गत मंसिर महिनामा कालो पत्र गरिएको स्थान मर्मत गर्न पत्र काटेको बारबर्दिया नगरपालिकाका योजना शाखाका अधिकृत गोविन्द पुरी बताउछन् ।

ठाउँ–ठाउँमा उप्किएको गुणस्तरीयहिन कालोपत्रे सडक । तस्विरः दीपक शर्मा /सेतोखरी

यसरी बाटो निर्माण गर्दा कमसल सामानको प्रयोग भएको छ र अख्तियारले पनि हेरिरहेको अवस्थामा नगरपालिकाले निर्माण कम्पनीलाई कुन आधारमा भुक्तानि गरेको भन्ने विषयको जवाफ स्थानीयवासीले अझै पाउन सकिरहेका छैनन् ।

नगर प्रमुख दुर्गा बहादुर थारु ‘कविर’, प्रशासकीय अधिकृत दशरथ बुढा, लेखा अधिकृत बसन्तबहादुर शाही र इन्जिनियरको मिलोमतोमा गुणस्तरहिन सडक निर्माण गर्ने कम्पनिलाई कमिसनको चक्करमा भुक्तानि दिएको स्थानीयबासीले आरोप लगाए ।

जनप्रतिनिधिको यस्तो हर्कतले सास्ती भोगेका स्थानीयबासी आक्रोसित समेत बनेकाछन् । अख्यिायारलाई समेत नटर्ने भएपछि सबैको मिलेमतो रहेको स्थानीयबासी बताउँछन् । अझ बारबर्दिया नगरपालिकाले विकास निर्माणका लागि समेत आफू अनुकुल र फरक बस्तीका ब्यक्तिलाई उपभोक्ता समितिमा जिम्मेवारी समेत दिने गरेको स्थानीयबासीले बताए ।

नगरपालिकाको विकास निर्माणको काममा अनियमिताको विषयमा कुरा उठाउँदा नगरपालिकाले उल्टै विकास विरोधि भनेर हावा फैलाउने काम गरेको स्थानीयबासीहरुलाई धम्कि दिने गरेको स्थानीयबासी सुरेस आचार्यले बताए ।