नेपालगन्ज २८ माघ : नेपालमा थप एक सय ३४ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार बेलुकासम्म देशरभ एक हजार ७ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् । भने पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६७ जनाको पीसिआर परीक्षण गरिएको थियो । योसंगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ४ हजार ६ सय २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । यद्यपी पछिल्लो तथ्यांक अनुसार देशभर कोरोना संक्रमणबाट मर्नेको संख्या २ हजार ४७ जना रहेकोछ ।
हाल देशभर ८८ जना क्वारेन्टिनमा रहेका छन् । भने पछिल्लो २४ घण्टामा एक सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ७२ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ३ जना संक्रमित आइसियुमा छन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा ३७ आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २७ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १ जना मात्र आइसियुमा छन् । सुदूरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।