नेपालगन्ज २९ माघ : नेपालमा बिहीबार ८१ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७ सय १८ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २३ जनाको पीसिआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २१ लाख ७ हजार ६ सय ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५२ पुगेको छ । हाल ८७ जना क्वारेन्टिनमा छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरि, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६४ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा ३६ जना आइसियु र ११ जना भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २२ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा छन् । सुदूरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।