नेपालगन्ज १ फागुन : उच्च अदालत दाङ तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले न्यायपूर्ण समाज स्थापनाका लागि न्यायमूर्तिहरु सक्षम र कटिबद्ध रहेको बताएकीछन् । उच्च अदालत बार एसोसिएसन नेपालगन्जको तेस्रो साधारणसभामा बोल्दै प्रमुख अतिथि दीक्षितले यस्तो बताएकी हुन् ।
नागरिकलाई न्याय दिलाउने बार र बेञ्चको साझा उद्देश्य रहेको बताउँदै उनले गहिरो अनुसन्धानले मात्र उचित न्याय निरुपण हुने हुँदा कानून व्यवसायीहरु संवेदनशील र सतर्क हुनुपर्नेमा जोड दिइन् ।
पछिल्लो समय समाज असंहिष्णु भइरहेको भन्दै उनले त्यसको असर न्यायमा पनि पर्ने जोखिमकावीच संवैधानिक सर्वोच्चता र विधिको शासन अनुरुप न्याय निरुपण हुने बताइन् ।
उच्च अदालत तुलसीपुर बुटवल ईजलासका वरिष्ठतम् न्यायाधीश शिवराज अधिकारीले न्यायपालिकालाई सुदृढ तरिकाले अघि बढाउन बारको भूमिका हुने भन्दै बार र वेञ्चबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । बार र वेञ्च एक रथका दुई पांग्रा भएको उनको भनाई छ ।
अधिकारीले वारलाई आफ्नो बारेमा समिक्षा गर्दै व्यवसायिक उत्तरदायित्व वहनका निम्ति गम्भीर बन्न आग्रह समेत गरे । उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका वरिष्ठतम् न्यायाधीश रत्न बहादुर बागचनले सुक्ष्म र विस्तृत अनुसन्धानले उचित निर्णयमा पुग्न सहज हुने भएकाले कानून व्यवसायीहरुको अहम् भूमिका हुने बताए ।
उद्घाटन शत्रमा नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले संवैधानिक संकटमा बारले अग्रणी भूमिका खेल्दै आएको स्मरण गराउँदै अहिलेको संकटलाई पनि सर्वोच्च अदालतले उचित निर्णय गरेर निकास दिने विश्वास ब्यक्त गरे ।
बारका महासचिव लिलामणि पौडेलले मुलुकमा संवैधानिक सर्वोच्चता नरहेको भन्दै राज्यका हरेक निकायहरु अख्तियारको दुरुपयोग गर्न उद्यत रहेको बताए । पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको समेत बताए ।
साधारणसभाको उद्घाटन शत्रमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष मीन बहादुर महत, बाँके जिल्ला अदालतका न्यायाधीश षडानन्द तिवारी, वरिष्ठ अधिबक्ता गिरिवर प्रसाद अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष जनक बहादुर शाही, बर्दिया जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष काशीराम चौधरी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्ज प्रमुख आनन्द सुवेदी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी द्वारिका अधिकारीले शुभकामना ब्यक्त गरेका थिए ।
उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष विकास आचार्यको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष रामगोपाल बर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सञ्चालन सचिव चित्र बहादुर शाही र सहसचिव कुसुमा बस्यालले गरेका थिए । सोक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।