नेपालगन्ज ३ फागुन : कोरोना भाइरस विरुद्धको पहिलो चरण अन्र्तगत दोस्रो खोप अभियान चलिरहँदा दोस्रो चरणको खोप ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिइएकोछ ।
कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको हो । विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरेको हो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ ।
सल्लाहकार समितिको बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको थियो । उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने यस विषयमा निर्णय गरेको छैन ।
यसअघि मन्त्रालयले पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउने निर्णय गरेको थियो । खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने ।
खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिएका प्रतिअसरहरु (ज्वरो आउने, टाउको तथा शरीर दुख्ने लगायत) दोस्रो मात्रा लगाउँदा कम देखिने विभिन्न अध्ययनले समेत देखाएको छ ।
कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउने बताइएको छ । खोप लिइसकेका व्यक्ति आफू सुरक्षित भए पनि अरुलाई सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।