खजुराका १४२१ जेष्ठ नागरिकको निशुल्क आँखा जाँच


खजुराका १४२१ जेष्ठ नागरिकको निशुल्क आँखा जाँच

नेपालगन्ज ४ फागुन : खजुरा गाउँपालिकाका एक हजार ४ सय २१ जना जेष्ठ नागरिकको निशुल्क आँखा जाँच गरिएको छ ।

खजुरा गाउँपालिकाले भिजन आँखा अस्पतालसंगको सहकार्यमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा एक हजार ४२१ जना जेष्ठ नागरिकले सेवा लिएका हुन् । गाउँपालिकाको ८ वटै वडामा उक्त शिविर आयोजना गरिएको थियो ।

जनतासंग स्थानीय सरकार कार्यक्रम अन्तर्गत आयोजना गरिएको निःशुल्क आँखा शिविरमा भिजन आँखा अस्पताल नेपालगन्जले अप्रेसन, औषधि वितरण गर्नुका साथै निःशुल्क चेकजाँच गरेको हो ।

उक्त शिविरबाट ८ सय ८५ जना महिला र ५ सय ३६ जना पुरुषले सेवा लिएकोमा १५६ जना ७० वर्षमाथी र १३२ जना ७० वर्ष मुनिका नागरिकको आँखा अप्रेसन गर्नुपर्ने पाइएको स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, लियो क्लब अफ नेपालगन्ज खजुरा, बागेश्वरी अप्टिकल्स र अरुणोदय बोर्डिङ स्कुलको संयुक्त आयोजनामा अरुणोदय बोर्डिङ स्कुलका विद्यार्थीको आँखा जाँच गरिएकोछ ।

खजुरा गाउँपालिका–४ मा रहेको उक्त विद्यालयका ९० जना विद्यार्थी र अभिभावकको निशुल्क आँखा जाँच गरिएको हो । कार्यक्रममा बागेश्वरी अप्टिकल्सका आँखा स्पेसलिस्टहरुले निःशुल्क सेवा प्रदान गरेको लियो क्लब अफ नेपालगन्ज खजुराकी अध्यक्ष लियो अरुणा गुरुङले जानकारी दिइन् ।