६० वर्षमाथिका नागरिकलाई फागुन २३ गतेदेखि कोभिड खोप


६० वर्षमाथिका नागरिकलाई फागुन २३ गतेदेखि कोभिड खोप

नेपालगन्ज ५ फागुन : ६० वर्षमाथिका नागरिकलाई आगामी फागुन २३ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएकोछ ।

दोस्रो चरणको कोभिड खोप अभियान अन्तरगत खोप लगाइन लागेको हो । कोरोना विरुद्धको खोप खरिद प्रक्रिया अगाडि बढाइरहेको सरकारले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय समेत गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको हो ।
यो निर्णयसंगै नेपालका ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकले खोप लगाउन पाउनेछन् ।

मन्त्रालयका अनुसार ७ लाख भन्दा बढी ७५ वर्षमाथिका नागरिक रहेको भनिएपनि त्यो संख्या १४ लाख आसपास रहेको बुझिएको छ । भने ६० वर्षभन्दा माथिका सबै उमेर समुहलाई जोड्दा २७ लाख व्यक्ति पुग्ने मन्त्रालयको अनुमान छ ।

Kanti Aarogya Hospital Nepalgunj

भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको १० लाख डोज खोप सरकारले गत माघ १४ गतेदेखि अभियान सञ्चालन गरि लगाइरहेकोछ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा फ्रन्टलाइर्नस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो। पहिलो दोस्रो प्राथमिकतामा पत्रकार, राजदुतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो।

अहिले सोही चरणमा सरकारी कार्यालयका कर्मचारीहरु र स्थानीय तहका जनप्रतिनिधिलाई खोप लगाइदैँ छ। यो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्ने बताइएको छ।

मंगलबार साँझसम्मको तथ्यांक अनुसार हालसम्म २ लाख ६३ हजार ४८ जनाले कोभिड खोप लगाइसकेका छन्।