नरैनापुरका सबै वडा पूर्ण खोप सुनिश्चितता


नरैनापुरका सबै वडा पूर्ण खोप सुनिश्चितता

नरैनापुर(बाँके) ६ फागुन : नरैनापुर गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

१६ देखि २३ महिनासम्मका सबै बालबालिकालले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाएपछि गाउँपालिकाका ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

नरैनापुर गाउँपालिकाको वडा नम्बर–६ यसअघि नै पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेको थियो भने वडा नम्बर १ देखि ५ लाई बुधबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले सबै वडालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष शाहले घोषणा गर्ने मात्र नभएर आगामी दिनमा पनि खोप अभियानलाई निरन्तरता दिने यसका लागि गाउँपालिका योजनाबद्ध भएर लाग्ने बताए । उनले यो अभियानलाई सफल बनाउने महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा समेत गरे ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले पूर्ण खोप घोषणा गरेपनि यसलाई दिगोपना दिनका लागि समयसमयमा अनुगमन गरिने बताए ।

पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा वडा नम्बर १,२ र ३ का वडाअध्यक्षहरु मोल्हे बेहना शेष, मसुद अहमद शाह र राजकुमार मौर्य, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाह लगायतले आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा पूर्ण खोप घोषणाका लागि महत्वपूर्ण योगदान दिएका विभिन्न संघसंस्था तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । गाउँपालिकालाई फागुन ८ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने कार्यक्रम छ ।

बाँके जिल्लालाई फागुनभित्र पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने लक्ष्य छ । नरैनापुर बाहेक अब बैजनाथ गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा हुन बाँकी छ ।