अन्तर पुस्ताबीचको सम्बन्ध कायम हुन नसक्दा सामाजिक विकृती बढ्यो


अन्तर पुस्ताबीचको सम्बन्ध कायम हुन नसक्दा सामाजिक विकृती बढ्यो

अन्तरपुस्ता सम्बाद कार्यक्रममा सहभागि अभिभावक तथा किशोर किशोरी लगायतको उपस्थितीमा गरिएको संवाद कार्यक्रम ।

नेपालगन्ज ६ फागुनः अन्तर पुस्ताबीचको सम्बन्ध कायम हुन नसक्दा सामाजिक विकृती बढेको सम्बद्ध सरोकारवालाहरुले बताएका छन् ।

पछिल्ला समयमा हराउँदै गएको सँस्कारका कारण सामाजिक विकृती देखा पर्न थालेपछि यसको निराकरणका लागि अन्तरपुस्ताबीच सम्बाद आवश्यक रहेको उनीहरुको भनाईछ । अन्तर पुस्ता बीचको सम्बन्ध अभावका कारण यस्तो समस्या देखा परेको भन्दै सम्बद्ध सरोकारवालाले चिन्ता र चासो समेत दिन थालेका हुन् ।

खजुरा गाउँपालिकासँगको सहकार्य, प्लान इन्टरनेशनलको सहयोग तथा बाँके युनेस्को क्लबको आयोजनमा गरिएको ‘अन्तर पुस्ता संवाद’ कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिकले भनिन्, ‘अगाडीको पुस्ताले डोर्याएको बाटोमा नयाँ पुस्ता हिड्नै चाहदैनन्, यसले गर्दा समाजमा सँस्कार भन्ने कुरा हराउँदै गइरहेको छ, हामीले बनाएको समाज कतातिर जादैँछ, हामी कतातिर जादैछौं, यो निकै चिन्ताको विषय बनेको छ ।’

अन्तर पुस्ताबीचको सम्बन्ध कायम हुन नसक्नुमा सामाजिक र राजनीतिक चेतनाको अभाव भएको उनको भनाई छ । ‘हामीभन्दा अगाडीको पुस्ताले अपनाएको सँस्कारलाई हामीले केही हदसम्म पालना गर्र्यांै, यसले हाम्रो पुस्तालाई फाइदा भयो तर, हामीभन्दा पछाडीको पुस्ताले त्यो सँस्कारमा रहन सकिरहेको छैन,’ उनले थपिन् ।

Kanti Aarogya Hospital Nepalgunj

उपाध्यक्ष बिकले थपिन्–‘आर्थिक उन्नतीतर्फ लाग्दैगर्दा हामीले संस्कार विर्सदै गएका छौं । त्यसैले समाजमा यस्तो समस्या सिर्जजना भएको हो ।’

सो क्रममा उपस्थित अभिभावकले आफुहरुले अगाडीको पुस्ताले गरेका सँस्कारलाई पछ्याउने गरेपनि आफ्ना छोराछोरीमाझ लागु गर्न निकै कठिन भइरहेको बताएका थिए ।

‘बुवा आमासँग अगाडी हामी बोल्न डराउँथ्यौं, अहिले हाम्रा छोरा छोरीहरु डराउने त परैको कुरा हो, हरेक कुरामा जिद्धी गर्छन्,’ कार्यक्रममा सहभागि एक अभिभावकले भने । यस्तो विकृती बढ्दै गएमा समाज नराम्रो दुर्घटनामा फस्ने सम्भावना रहेको अभिभावकको ठहर छ ।

सामाजिक विकृति र समस्या समाधानका लागि नैतिक शिक्षा अपिहार्य भएको उनीहरुको भनाईछ । आधुनिक तथा पाश्चात्य संस्कारलाई अंगिकार गर्दै आफ्ना मौलिक मूल्यमान्यता र संस्कार विर्सनुले स्वयम आफै दुर्घटनामा पर्दै गएको कार्यक्रमका सहभागिहरुले बताए ।

सो क्रममा बोल्ने सरोकारवाला, अभिभावक, किशोर तथा किशोरीले अन्तरपुस्ता बीच सम्बन्ध कायम गर्न निरन्तर संवाद तथा छलफल गरिनुपर्ने आवश्यकता औल्याए थिए ।
संस्थाको तर्फबाट शंकर न्यौपानेले सहजिकरण गरेको कार्यक्रममा अभिभावक, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, प्रहरी, सञ्चारकर्मी लगायतले आफ्नो धारणा राखेका थिए ।

बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर शंकरसिंह थारुका अनुसार बेचविखन र संरक्षणमा जनचेतना फैलाउने उद्देश्यका साथ उक्त परियोजना बाँकेको चार पालिकामा सन् २०१९ को जुलाईबाट सुरु भएको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा उक्त परियोजना सञ्चालनमा रहेकोछ ।

परियोजनामार्फत बेचविखन र संरक्षणमा जनचेतना फैलाउने, जोखिम र अभिभावक विहिन बालबालिकालाई सहयोग, सामाजिक ब्यवहार परिर्वतन सञ्चार तथा विद्यालयका शिक्षकलाई तालिम लगायतका गतिविधि गर्दै आएकोछ ।