लुम्बिनी प्रदेशमा उत्सापूर्ण खोप, बाँकेमा छुटेकालाई लगाउन आग्रह


लुम्बिनी प्रदेशमा उत्सापूर्ण खोप, बाँकेमा छुटेकालाई लगाउन आग्रह

File Photo

नेपालगन्ज ९ फागुनः लुम्बिनी प्रदेशका १२ जिल्लामा दोस्रो चरणको कोरोना खोप लक्ष्यको ९० प्रतिशत लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म प्रदेशमा ३९ हजार ८ सय ७८ जनालाई लगाइएको छ । जुन कूल लक्ष्यको ९०.२ प्रतिशत प्रगति भएको हो ।

सबैभन्दा बढी खोप कपिलवस्तु जिल्लामा १०२ प्रतिशत लगाइएको छ । जहाँ ६ हजार ३४ जनालाई लगाउने लक्ष्य रहेकोमा ६ हजार १ सय ५४ जनालाई लगाइएको छ । त्यसपछि बर्दिया जिल्लामा ९९.२ प्रतिशतले खोप लगाएका छन् । जहाँ ४ हजार ६ सय ७५ जनाको लक्ष्य रहेकोमा ४ हजार ६ सय ३६ जनाले खोप लगाए ।

नवलपरासी पश्चिममा ९८.९ प्रतिशत, दाङमा ९२ प्रतिशत, प्युठानमा ९१.२ प्रतिशत, रुपन्देहीमा ७८.६ प्रतिशत र अर्घाखाँची ८७.५ प्रतिशत, बाँकेमा ९५.२ प्रतिशत खोप प्रगति भएको छ ।

बाँकेमा ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४ हजार ५ सय ६३ जनाले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा कम रुकुममा ७५.६, पाल्पामा ७७.२ र रोल्पामा ८२.९ प्रतिशत खोप लगाइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, बाँकेमा दोस्रो चरणमा कोरोना खोप लगाउन छुटेका लक्षित बर्गलाई आईतवार र सोमवार पनि खोप लगाईंदैछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार खोप लगाउन छुटेकाले आईतवार र सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भेरी अस्पतालमा गएर खोप लगाउने व्यवस्था गरिएकोछ ।

पत्रकार, जनपद प्रहरी र जनप्रतिनिधिहरुले लक्ष्य भन्दा कम खोप लगाएकाले उनीहलाई खोप लगाउन आग्रह गरिएको हो । दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि फागुन ८ गतेसम्म चलेको हो ।

बाँकेमा दोस्रो चरणमा ४ हजार ५ सय ६३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ९५.१६ प्रतिशत हो । दोस्रो चरणमा ४ हजार ७ सय ९५ लाई खोप लगाउने लक्ष्य थियो ।

पहिलो चरणमा भने ४ हजार ९ सय ६७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । जुन लक्ष्यको ९९.३४ प्रतिशत हो । पहिलो चरणमा ५ हजारलाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरण भन्दा दोस्रो चरणमा ४ प्रतिशत कमले खोप लगाएका छन् ।

दोस्रो चरणमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ९ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्य भन्दा बढी हो । स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी र प्राधिकरण तथा संस्थानका कर्मचारीले लक्ष्य भन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पत्रकारहरुमा ९० जनाले मात्र खोप लगाएका छन् ।

दोस्रो चरणमा सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्था लगायतलाई लक्षित गरी खोप अभियान चलाइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, बृद्धाश्रमका हेरालु, कैदीवन्दी तथा सुरक्षाकर्मीलाई खोप दिइएको थियो । माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरणमा खोप लगाइएको थियो ।