नेपालगन्ज १५ फागुन : एक महिना लामो श्री स्वस्थानी व्रतकथाको आज विधिवतरुपमा समापन गरिएको छ ।
यो वर्षको अन्तिम दिन आज शालिनदी लगायत देशभरका मन्दिर तथा जलाशयमा व्रतालुहरुले पूजा आराधना गरेर व्रत समापन गरेका छन् ।
व्रत अवधिभर शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थान, पशुपति, गौरीघाट, गणेश मन्दिरमा पूजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेका कारण ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।
स्वस्थानी व्रतकथा समापनका लागि आज शालीनदीसँगै भक्तपुरको हनुमानघाट, नेपालगन्जको बागेश्वरी मन्दिर लगायतका स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।
महिनाभर स्नान गरी श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाए मनको आकांक्ष पूरा हुने जन तथा धार्मिक विश्वास छ ।
सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउन निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा लिने चलन छ ।
यो अवधिमा व्रत बस्ने र उनको घरपरिवारमा माछामासु, लसुन, प्याज लगायतका खानेकुरा खान बन्देज हुन्छ । एकमहिनाभर साकाहारी खाना खाने, नित्यकर्म, भजनकिर्तन तथा श्री स्वस्थानी व्रतपाठ पढ्ने र सुनाउने गरिन्छ ।