कोभिड–१९ दोस्रो चरणको खोप अभियान

बाँकेका २५ हजार बढिलाई खोप लगाइदैँ


बाँकेका २५ हजार बढिलाई खोप लगाइदैँ

File Photo

नेपालगन्ज २१ फागुन: कोरोना भाइरस संक्रमण विरुद्ध आईतबारदेखि बाँकेमा दोस्रो चरणको खोप लगाइने भएकोछ । बाँकेमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान सफल बनाउन स्वास्थ्य कार्यालय बाँकेले आवश्यक सम्पूर्ण तयारी पुरा गरेको जनाउदै यस्तो बताएको हो ।

दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा बाँकेका आठ वटै पालिकाका २५ हजार ७ सय ८९ जनालाई खोप लगाइनेछ । यसअघि पहिलो चरणमा लगाउन छुटेका र जेष्ठ नागरिकलाई जिल्लाका ८१ वटा स्वास्थ्य कार्यालयबाट खोप लगाइने ब्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका ६ हजार ३ सय ८४ जना, कोहलपुर नगरपालिकाका ३ हजार २ सय ८२ जना, बैजनाथ गाउँपालिकाका ३ हजार १ सय २१ जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार ६१ जना, नरैनापुर गाउँपालिकाका २ हजार १ सय ६८ जना, डुडुवा गाउँपालिकाका २ हजार ९८ जना, खजुरा गाउँपालिकाका ३ हजार ४ सय १७ जना र जानकी गाउँपालिकाका २ हजार २ सय ५८ जनालाई खोप लगाइदैछ ।

यसअघि पहिलो चरणको खोप अभियान अन्र्तगत बाँकेका ५ हजार जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा ४ हजार ९ सय ६७ जनाले खोप लगाए । यस्तै पहिलो चरण अन्र्तगत दोस्रो अभियानमा जिल्लाका ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ४ हजार ८ सय ६१ जनाले खोप लगाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

कोभिड–१९ रोग विरुद्धको खोप अभियान अन्र्तगत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा खोप समन्वय समिति र सञ्चारकर्मीबीच समेत अन्तरक्रिया गरिएकोछ ।

सोक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषरजा शर्माले जेष्ठ नागरिक र छुटेकालाई खोप लगाउन वडागत स्वास्थ्य संस्थासंग समन्वय गरि खोप समन्वय समिति निर्माण गरिसकेको जानकारी दिए ।

उनका अनुसार १८ वर्षमुनीका, गर्भवती, गम्भीर विरामी, एन्टिबायोटिक सेवन गरिरहको, दीर्घरोगहरुले कोरोनाको खोप लगाउन नुहुने बताए । हालसम्म देशभर ४ लाखले कोरोना विरुद्धको खोप लगाईसकेकाछन् ।

पहिलो चरणको खोप लगाएपछि २८ दिनको फरकमा दोस्रो डोज लगाउनु पर्ने प्रावधान भएतापनि नेपाल सरकारले दुईदेखि तीन महिनाको फरकमा खोप लगाए प्रभावकारी हुने भन्दै दोस्रो चरणको खोप वैशाख ७ देखि १५ गतेसम्म लगाइने तयारी गरिएकोछ ।

बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले फागुन २३ देखि २५ सम्म जिल्लाका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइने कोरोना विरुद्धको खोपका लागि बाँकेमा २५० स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

सो अन्तरक्रियामा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादर कुरुम्वाङ्गले कोरोना विरुद्धको खोप अभियान सफल पार्न सबैले सकारात्मक भूमिका खेल्न अपील गरे । यसबिच कोरोना खोपलाई लिएर विभिन्न हल्ला चलेका कारण त्यस्ता गलत सूचनाका पछि नलाग्न भन्दै प्रजिअ कुरुम्वाङ्गले राष्ट्रिय खोप अभियान सफल पार्न आग्रह गरे ।

उनले कोरोनाकालमा बाँके देशमै उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै जिल्ला बाहिरका धेरै कोरोना संक्रमितले यहाँबाट सेवा पाएको स्मरण सुनाए ।

सोक्रममा बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सशस्त्र प्रहरीबलका एसपी अशोक बम, राष्ट्रिय अनुसन्धानका एसपी विक्रम गिरी, भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापा लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।