File Photo
नेपालगन्ज २२ फागुन : कोरोना विरुद्धको खोप ‘कोभ्याक्स’ आईतबार नेपाल आउने भएकोछ ।
कोभ्याक्स फ्यासिलिटी अन्तरगत नेपालले निःशुल्क रुपमा उक्त खोप पाएको हो । कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ ।
उक्त खोपमध्ये पहिलो चरणमा भोली आईतबार ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो । कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आईतबार ११ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो खेप अन्तरगतको खोप आइपुग्ने जानकारी दिए । उनले उक्त खोप लिन आफू पनि विमानस्थलमा जाने जानकारी दिए ।
विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ ।
यसैबीच सरकारले दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान आईतबारबाट शुरु गर्दैछ । सरकारले आईतबारबाट ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्ष माथिकालाई कोरोना खोप दिने कार्यक्रम तय गरेकोछ ।