नेपालगन्ज २३ फागुनः सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि शुरु भएकोछ । दोस्रो चरणको पहिलो दिन आईतबार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् ।
सरकारले देशभरका ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने पूर्वप्राथमिकता परिवर्तन गर्दै ६५ वर्षमाथिका १७ लाख ६५ हजार जना नागरिकलाई खोप लगाइदैँछ ।
खोप उपलब्धताका आधारमा सरकारले प्राथमिकता परिवर्तन गर्दै ६५ वर्षभन्दा माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई लगाउने निर्णय गरेको हो । योसंगै ५५ वर्षमाथिकालाई १० दिनपछि मात्र खोप लगाइने भएको छ । ५५ देखि ६४ वर्षसम्मका नागरिकले भने चैतमा मात्र खोप लगाउन पाउने भएका छन् । खोप उपलब्धताका आधारमा त्यसलगत्तै अर्को २८ लाख जनसंख्यालाई खोप लगाइनेछ ।
विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पायक पर्ने खोप केन्द्रमा खोप लगाउने ब्यवस्था गरिएकोछ । आज ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप दिइने भएको छ ।
बाँकेमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान सफल बनाउन स्वास्थ्य कार्यालय बाँकेले आवश्यक सम्पूर्ण तयारी पुरा गरेको जनाएकोछ । दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा बाँकेका आठ वटै पालिकाका २५ हजार ७ सय ८९ जनालाई खोप लगाइनेछ ।
यसअघि पहिलो चरणमा लगाउन छुटेका र जेष्ठ नागरिकलाई जिल्लाका ८१ वटा स्वास्थ्य कार्यालयबाट खोप लगाइने ब्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका ६ हजार ३ सय ८४ जना, कोहलपुर नगरपालिकाका ३ हजार २ सय ८२ जना, बैजनाथ गाउँपालिकाका ३ हजार १ सय २१ जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार ६१ जना, नरैनापुर गाउँपालिकाका २ हजार १ सय ६८ जना, डुडुवा गाउँपालिकाका २ हजार ९८ जना, खजुरा गाउँपालिकाका ३ हजार ४ सय १७ जना र जानकी गाउँपालिकाका २ हजार २ सय ५८ जनालाई खोप लगाइदैछ ।
यसअघि पहिलो चरणको खोप अभियान अन्र्तगत बाँकेका ५ हजार जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा ४ हजार ९ सय ६७ जनाले खोप लगाए । यस्तै पहिलो चरण अन्र्तगत दोस्रो अभियानमा जिल्लाका ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ४ हजार ८ सय ६१ जनाले खोप लगाएका थिए ।
खोप अभियान अन्तरगत १८ वर्षमुनीका, गर्भवती, गम्भीर प्रकृतिका विरामी, एन्टिबायोटिक सेवन गरिरहको बिरामी र दीर्घरोगीहरुले कोरोना विरुद्धको खोप लगाउन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकोछ ।
बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले आजबाट शुरु हुने खोप अभियान फागुन २५ सम्म सञ्चालन हुनेछ । यो अवधिमा जिल्लाका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइने कोरोना विरुद्धको खोपका लागि बाँकेमा ८१ स्वास्थ्य कार्यालयमा २ सय ५० स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।