नेपालगन्ज २३ फागुन : कोरोना विरुद्धको खोप ‘कोभ्याक्स’ नेपाल आइपुगेकोछ । कोरोना भाइरस विरुद्धको खोपको ३ लाख ४८ हजार डोज आईतबार बिहान नेपाल आइपुगेको हो ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्रहण गरे ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले निःशुल्क रुपमा उक्त खोप पाएको हो । कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ ।
उक्त खोपमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुगेको छ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप २० देशमा पठाइएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्ने छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।