नेपालगन्ज २३ फागुनः कोरोना भाइरस विरुद्ध दोस्रो चरणको खोप अभियान अन्र्तगत पहिलो दिन आईतबार देशभर १ लाख ४३ हजार १४२ जनाले खोप लगाएका छन् ।
सरकारले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि शुरु गरेको खोप अभियानको पहिलो दिन साँझ ६ बजेसम्म १ लाख ४३ हजार १४२ जनाले खोप लगाएका हुन् ।
देशभरका २ हजार ९३ वटा खोप केन्द्रबाट आईतबबर पहिलो चरणमा छुटेका र ६५ वर्षमाथिका नागरिकले खोप लगाएका छन् ।
६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइसकेपछि अब ५५ देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिइने सरकारको तयारी छ । खोप अभियान सफल पार्न देशभर १५ हजार स्वास्थ्यकर्मी खटिएका छन् ।
आईतबार विहान त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएसँगै ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिएको थियो ।
शिक्षण अस्पताल महाराजगञ्ज पुगेर आईतबार बिहान प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् । खोप लगाएर फर्कने क्रममा प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफूलाई कुनै समस्या नदेखिएको बताए ।
उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेकाछन् । ‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,’ प्रधानमन्त्री ओलीले भने ।