नेपालगन्ज २४ फागुन : महिला तथा पछाडी पारिएका वर्गका दुई सय पचास जनालाई नेपालगन्जमा बृहत राहत प्रदान गरिएको छ ।
यूएन वुमेनको सहयोगमा वुमेन एक्ट, दलित महिला केन्द्रले निल हिरा समाजको समेत साझोदारीमा नेपालगनजका दलीत, मुस्लिम, मधेशी, अल्पसंख्यक, तेस्रो लीगीं लगायतका महिलालाई आईतबार र सोमबार गरि राहत वितरण गरेको हो ।
कोभिड– १९ का सन्दर्भमा महिला तथा पछाडी पारिएका वर्गहरुका लागि समस्त राहत प्याकेज परियोजना अन्तर्गत खाद्य सामाग्रीसहित प्रत्येकलाई १३ हजार नगद समेत प्रदान गरिएको हो ।
राहत अन्तगर्त एक कठ्ठा चामल, दुई केजी दाल, दुई लिटर तेल, दुई केजी चना, चिनी, सावुन, सरफ, मेडिसीन, सेनेटरी प्याड लगायतका सामाग्री प्रदान गरिएको परियोजना लुम्वीनी प्रदेश संयोजक राधा नेपालीले जानकारी दिइन ।
अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा वितरित राहत प्रदान कार्यक्रममा दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले खाद्य सामाग्रीको यो राहातले पछाडी परेका परिवारको दुखमा साथ दिन खोजिएको बताइन ।
केन्द्रकी उपाध्यक्ष एवं संविधान सभा सदस्य दुलारी हरिजनले मानवीय सहयोगले पछाडी परेको परिवारलाई थप सशक्त र जागृत गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्वीनी प्रदेश सचिव शुक्रऋषि चौलागाई, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष मोहम्मद अयुव सीद्दीकी, वडा नम्बर– २ का वडा सदस्य धु्रव दाहाल लगायतले पनि राहत प्रदान गरेका थिए । यस अघि पनि दलित महिला केन्द्रले कोभिड– १९ बाट अत्याधिक प्रभावित नेपालगन्जका गरिब परिवारलाई ग्यास चुल्हो, मोवाइल सेट सहितको खाद्य राहत दिएको थियो ।