खानामै ब्रम्हलुटः कमिशन चक्करले गुणस्तरहिन

भेरी अस्पतालमा बेथिति बढ्दैं : वार्षिक २० लाख बजेट


खानामै ब्रम्हलुटः कमिशन चक्करले गुणस्तरहिन

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने विरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ ।  सरकारी अस्पतालले भर्ना भएका विरामीहरुलाई निःशुल्क रुपमा खुवाउँदै आएको खाना ‘खाए खाँ नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो ।

यसले अस्पतालहरुबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको छ । सरकारी निकायहरुमा जताततै विकृति र विसंगति मौलाइरहेको बेला सरकारी अस्पतालजस्तो विश्वसनीय र संवेदनशील निकायमा समेत विरामीलाई दिइने खाना गुणसतरहीन हुँदा समेत अस्पताल व्यवस्थापन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्न चासो देखाएका छैनन् ।

विरामी भएर निजी अस्पतालमा उपचारको लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवारहरु सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी असपतालमा उपचार गराईरहेका एक विरामीका आफन्त बताउँछन् । त्यसै पनि सरकारी अस्पतालहरु यो वा त्यो कारणले सँधैजसो विवादमा पर्दै आएका छन् । चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु विरामीप्रति संवेदनशील नबनेका घटना अब समाचार हुन छाडिसकेको छ । नढाँटी भन्ने हो भने सरकारी अस्पतालले आफ्नो विश्वासनीयता गुमाइसकेका छन ।

पैसा खर्च गरेर अन्यत्र उपचारको लागि जान नसक्ने विरामीहरु पनि दूषित खाद्यान्नको कारण थप विरामी पर्ने परिस्थिति अहिले उत्पन्न भएको छ ।भेरीमा वितरण हुने पानी समेत प्रदूषित भएको विरामीका कुरूवा बताउँछन् । विरामीलाई निःशुल्क खुवाइने खानाको कुनै निकायले पनि अनुगमन नगर्ने गरेको कारण अखाद्य वस्तु खान विरामीहरु बाध्य भएका हुन् । भेरी अस्पतालको त यो अवस्था छ भने ग्रामिण क्षेत्रका अस्पतालको खानाको गुणस्तर कस्तो होला नेपालगन्ज गोपाल खत्रीले भने ‘जताततै लापरवाही भन्दा केही भेटिदैन् ।’

Kanti Aarogya Hospital Nepalgunj

उनकाअनुसार सम्बन्धित सरकारी अस्पताल विकास समितिका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट र प्रमुख जिल्ला अधिकारीहरुले पनि विरामीलाई खुवाइने खानाको नियमित अनुगमन गर्न सक्छन् । तर भेरी मा यस्तो गरिएको देखिएन् । दूषित खाद्यन्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी बताउँछन् ।
विरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ ।

तर, विरामीले तोकिएको मापदण्ड र सहमतिअनुसारको खाना खान पाउँदैनन् अस्पतालकै एक कर्मचारीले भने ‘हामी तल्लो हतका कर्मचारी जति बोलेपनि के गर्नु सुन्ने ठाउँले सुन्दैनन् । विरामीको खानामा एकदमै ब्रम्हलुट छ ।’ सहमतिअनुसार एक विरामी दैनिक ६ सय ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध, सागसव्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने अस्पतालकै कर्मचारी बताउँछन् ।

तर, विरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि विरामीले आफै अस्पताल बाहिरका होटलबाट खाना ल्याउने गरेको विरामीहरुको गुनासो छ । एक विरामी कुरुवाले भनिन– ‘अण्डा दूध केही आउ“दैन, आफै होटलबाट किनेर बिरामीलाई खुवाउ“नु पर्छ ।’ उनका अनुसार जनस्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाही हुनुपर्छ ।

अस्पतालको भान्सा सञ्चालन र विरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताए । उनकाअनुसार अस्पतालमा विरामीका लागि खाना खुवाउन भनेर भान्सा सञ्चालन वापत सरकारले यो बर्ष २० लाख रूपैयाँ बजेट प्रदान गरेको छ । 

तर, अस्पतालले कमसल खालको खाना खुवाएर उक्त खानामै कमिशनको चक्कर चलाएको स्रोत बताउँछ । अस्पताल व्यवस्थापनले यस बिषयमा अनुगमन गरेको छैन् । उक्त अस्पतालमा दैनिक कति जनाको संख्यामा खाना खुवाईयो भन्ने यकिन विवरण पनि अस्पतालसँग छैन् । अस्पतालका निमित्त प्रमुख पाण्डेकाअनुसार विरामीले गरेको गुनासो एकदमै जायज भएको बताए ।

उनले भने ‘तर अस्पतालमा लिखित रूपमा कुनैपनि विरामीले खाना गुण्स्तरहीन भएको भनेर निवेदन दिएका छैनन् । यदि कसैले लिखित रूपमै निवेदन दिए तत्काल छानवीन र अनुगमन गरिने उनले बताए । उनले भने ‘छानबनिका क्रममा दोषी भेटिए ठेकेदारमाथी पनि कारवाही प्रक्रिया अघि बढ्छ ।’ स्मरणहोस् विरामीले लिखित वा मौखिक उजुरी नदिएपनि विरामीलाई नै खुवाउने खाना कस्तो छ भने नियमित अनुगमन तथा अवलोकन गर्ने जिम्मेवारी अस्पतालकै हो ।