नेपालगन्ज २८ फागुन : नेपालगन्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषित भएकोछ ।
नगरका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सम्पूर्ण खोप दिइएपछि नेपालगन्ज उप–महानगरपालिकालाई शुक्रबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।
सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले उपप्रमुख मगरलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना भएको प्रमाणपत्र प्रदान गरे ।
नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले पूर्ण खोप सुनिश्चितता तथा दीगोपना निरन्तर हुनुपर्ने भएकाले निश्चित कार्ययोजना बनाइएको बताए ।
नेपालगन्जमा जन्मेदेखि एकपटक पनि खोप नलगाएका १९ जना बालबालिकाको पहिचान गरि उनीहरुलाई खोप दिइएको छ भने केही खोप लगाएपनि घोषणाका लागि सम्पूर्ण खोप नलगाएका २६३ जना बालबालिकालाई सम्पूर्ण खोप दिइएको थियो ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य नीति, ऐन, नियमावली तथा कार्यविधि निर्माणका लागि कार्यदल गठन गरिएको छ।
नगरको स्वास्थ्य नीति, ऐन, नियम निर्माणका बारेमा शुक्रबार भएको छलफल कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बशन्ता जोशीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर १४ का अध्यक्ष ओमकारनाथ मिश्रा, कार्यपालिका सदस्य ईन्दिरा शाही, कौसलकुमार धोवी, प्रशासन प्रमुख राजन केसी, लेखा अधिकृत लोकेन्द्र रावत, योजना शाखा प्रमुख भुपेन्द्र बोहरा, कानून शाखा प्रमुख माया शर्मा र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द रहेकाछन् ।
कार्यक्रममा उपप्रमुख उमा थापा मगरले प्रमुख सरोकारवालाहरुसँग समन्वय गरेर कानून निर्माण गरिने बताईन् । स्थानीयका आवश्यकताका आधारमा कानून बनाउनुपर्छ, उपप्रमुख मगरले भनिन्,–‘कानून कार्यान्वयनमा सहज होस् भन्नेतर्फ नीति निर्माताको ध्यान पुग्न आवश्यक छ ।’