कोरोनाको दोस्रो लहरको जोखिममा नेपाल

स्वास्थ्य मन्त्रालयले भन्यो ‘सभा सम्मेलन नगरौं’


कोरोनाको दोस्रो लहरको जोखिममा नेपाल

नेपालगन्ज : नेपालमा यतिबेल कोरोनाको महामारी फैलिनुअघि जस्तै मानिसको जीवनशैली शुरु भइसकेको छ । मास्क, सामाजिक दूरी अनिवार्य गरिए पनि यसतर्फ मानिसको ध्यान ह्वात्तै घटेर आएकोछ ।

हाल नेपालमा कोरोना संक्रमण घट्न थालेको स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक अपडेटबाट थाहा हुन्छ । तर, कोरोनाको दोस्रो लहरको जोखिम नेपालमा उच्च रहेको स्वास्थ्यविद्हरू बताइरहदाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै सभा, जुलुस र भेला नगर्न आग्रह गरेकोछ ।

छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपालमा जोखिम हुने भनेकै भारतमा संक्रमण बढेपछि हो । भारतमा पछिल्लो दिन संक्रमण बढ्दै गएपछि मध्यप्रदेश, महाराष्ट्र, गुजरातमा बुधबारदेखि रात्रिकालीन कर्फ्यू जारी समेत भइसकेको छ । भारतमा शनिबार मात्रै ४० हजार ९ सय ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक एकैदिन थपिएको यो संख्या उच्च हो ।

Kanti Aarogya Hospital Nepalgunj

असअघि पनि भारतमा संक्रमण बढ्दै गएको केही समयपछि नेपालमा संक्रमण तीव्र बढेको थियो । जसले गर्दा नेपाल पुनः कोरोनाको उच्च जोखिममा परेको विज्ञहरूले बताएका छन् ।

कोरोनाको दोस्रो लहरको जोखिम नेपालमा उच्च रहेकैबेला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध छ ।’

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै मन्त्रालयले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अपील गरेको छ ।

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आईतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

अन्य मुलुकमा समेत कोरोना संक्रमणको दर पछिल्लो समय एक्कासी बढ्न थालेको छ । यस्तो अवस्थामा भारत लगायत अन्य राष्ट्रबाट स्थल र हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्नेलाई सधैं निगरानीमा राख्नुपर्ने स्वास्थ्यविद् बताउँछन् ।

भर्खरै कोरोना संक्रमण अलि कम भएको बेलामा पुनः दोस्रो लहर आयो भने नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसैले अहिले नै सीमानामा चिकित्सकसहित टोली राखेर निगरानी गर्नुपर्ने ।

भारतमा संक्रमण बढेसँगै नेपाल दोस्रो लहरको उच्च जोखिममा परिसकेका छ । यो अवस्थामा सरकारले सीमा नाकामा एकदमै कडाइ गर्नुपर्ने देखिन्छ । नभए नेपाल दोस्रो लहरको क्षति बेहोर्न तयार हुनुपर्छ ।

भारतमा संक्रमण पुनः फैलिएपछि नेपालीहरू धमाधम स्वदेश फर्कँदै छन् । उनीहरूलाई राम्रोसँग निगरानीमा राखिएन भने पुनः संक्रमण फैलिन्छ । उताबाट आएका र लक्षण भएका बिरामीलाई उच्च निगरानीमा राख्नुपर्छ । त्यसैले सीमानामै उनीहरूको एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइनुपर्छ ।

पहिलो सकिएर दोस्रो लहर सुरु हुन एकपटक भाइरस फैलावट पुनः उच्चतम विन्दुमा पुग्ने सम्भावना हुने हुँदा बेलैमा सचेत रहनुपर्ने बताइन्छ ।