भारतबाट नेपाल आउनेलाई १० दिन क्वारेन्टिनमा बस्न आग्रह

नेपालमा नयाँ भेरिएन्टको कोरोना देखिने त्रास कायमै


भारतबाट नेपाल आउनेलाई १० दिन क्वारेन्टिनमा बस्न आग्रह

नेपालगन्ज ८ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आउनेलाई १० दिन क्वारेन्टिनमा बस्न आग्रह गरेकोछ । भारतमा कोरोना संक्रमणको दर बढ्न थालेपछि नेपालमा पनि फेरी कोरोना संक्रमण बढ्न सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम उच्च हुने बताए । उनले हाल नेपालमा कोरोना संक्रमणको दर कम भएपनि संक्रमणको उच्च जोखिमको अवस्थामै भएको पनि बताए ।

उनले भारतमा संक्रमण दर बढ्न थालेपछि सीमा नाकामा निगरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको पनि बताए । ‘छिमेकी मुलुकमा संक्रमण बढ्दै जाँदा हामीकहाँ जोखिम हुनसक्छ भने हरेक नाकाहरुमा निगरानी बढाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ ।

सहप्रवक्ता डाक्टर अधिकारीले अहिले पनि बाहिरबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टिनमा बस्न भनिएको बताए । स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले पनि भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण बढिरहेकाले केही शहरहरुमा लकडाउन तथा रात्रीकालिन कफ्यु लगाउन थालिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले ती प्रान्तहरुमा रहेका नेपाली स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जोखिम रहेको बताए । डाक्टर पौडेलले भारतबाट नेपालमा फेरी कोरोना संक्रमण नफैलियोस् भनेर सीमा नाकाहरुमा ज्वरो परीक्षण तथा जाँच हुन थालेको पनि बताए । उनले ज्वरो आएका व्यक्तिहरुको लागि आरडीटी परीक्षण वा सम्भव भएन कोभिड–१९ को एन्टिजेन टेस्ट गर्न निर्देशन दिइसकेको पनि बताए ।

डाक्टर पौडेलले एन्टिजेन पोजेटिभ आएका व्यक्तिहरुलाई उपचार र आवश्यक व्यवस्थापनका लागि नजिकको अस्पतालमा व्यवस्थापन गर्न पनि निर्देशक दिइसकेको बताए । उनले भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई नेपालमा क्वारेन्टिन बस्न समेत आग्रह गरेका छन् ।

उनले भारतमा देखिएको कोरोना भाइरस नयाँ भेरिटएन्टको हो वा होइन भन्ने यकिन नभइसकेको र यदी नयाँ भेरिएन्टको भएमा सोही अनुसारको स्वास्थ्य मन्त्रालयले सतर्कताको पहल गर्ने पनि बताए ।

उनले नयाँ भेरिएन्टको कोरोना भाइरस नेपालमा देखिनसक्ने भएकाले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने पनि बताए ।