नेपालगन्ज ९ चैत : नेपालगन्जको जमूनाह नाकामा सुविधा सम्पन्न ‘हेल्थडेस्क’ निर्माण गरिएको छ ।
भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृत सहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको जानकारी दिए ।
ती मध्ये ल्याव टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिईसकेका छन् ।
विगतमा उपमहानगरपालिका आफैले हेल्थडेस्क सञ्चालन गरेकोमा अब महाशाखाबाट सहयोग प्राप्त भएपछि सेवा प्रभावकारी हुने चन्दले बताए ।
नाका हेल्थडेस्कको स्थायी संरचना निर्माण सम्पन्न नहुञ्जेल सम्म तत्काल काम शुरु गर्नका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नेपालले त्रिपाल, ट्याब लगायतको सहयोग गरेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाह, स्वास्थ्य शाखा प्रमुख चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक सल्लाहकार सावित्री भट्ट, उपमहानगरपालिकाका वीरेन्द्र रावत सहितको टोलीले सोमबार हेल्थडेस्क सञ्चालन लगायतका विषयमा जमूनाह नाकामा पुगेर तयारीबारे आवश्यक जानकारी लिएको छ ।