हात्तीपाइले विरुद्धको औषधी सेवन सफल बनाउन खजुरा जुट्यो


हात्तीपाइले विरुद्धको औषधी सेवन सफल बनाउन खजुरा जुट्यो

खजुरा १० चैतः बाँकेको खजुरा गाउँपालिका हात्तिपाइले विरद्धको आम औषधी सेवनका लागि योजनाबद्ध ढंगले अगाडि बढ्ने भएको छ ।

राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन आभियान सम्बन्धी स्थानीय तहस्तरीय योजना तथा बहुनिकाय गोष्ठीसमेत खजुराको स्वास्थ्य शाखाले आयोजना गरेको छ ।

हात्तीपाइले रोगको संक्रमण दर घटाई जनस्वास्थ्य समस्याबाट हटाउन औषधी सेवन गर्न मिल्ने सबैलाई औषधी सेवन गराउनका लागि खजुराले प्रयास थालेको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले बताए ।

बाँकेमा २०६७/०६८ देखि हात्तिपाइले विरुद्धको औषधी सेवन शुरु गरिएको भए पनि लक्ष्यमा पुग्न नसकेकाले आम मानिसलाई औषधी सेवन गराएर संक्रमण दर १ प्रतिशतभन्दा कम गर्ने नेपाल सरकारको राष्ट्रिय लक्ष्य अनुसार सन् २०२६ सम्म औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका हात्तिपाइले रोगविरुद्धका फोकल पर्सन रतनलाल शर्माले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

औषधी सेवन मात्र हात्तिपाइले रोगको निवारण रहेकाले सबैले ढुक्क भएर औषधी खान खजुराका जनप्रतिनिधिले आव्हान गरेका छन् ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतमले खजुराका सबै सरोकारवाला निकायले यो अभियानमा सहकार्य गर्न आव्हान गरे ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, प्राथमिक स्वास्थ्य केन्द्र खजुराका डा. पुजा सुनार, खजुरा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख टिकामाया गुरुङले अभियानमा सबैको साथ र हातेमालो हुनु पर्नेमा जोड दिए । आगामी चैत २० गतेदेखि औषधी सेवन शुरु हुनेछ ।