नेपालगन्ज ११ चैत : छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ लहर शुरु भएपछि यतिबेला नेपालमा उच्च सर्तकता अपनाइएकोछ ।
भारतमा कोरोनाको नयाँ लहर शुरु भएसंगै विभिन्न प्रदेशमा कफ्र्यू तथा लकडाउन समेत लगाइएकोछ । कोरोनाको दोस्रो लहर बढ्पछि भारतमाका विभिन्न क्षेत्रमा रोजगारी, अध्ययन लगायतका लागि गएका नेपालीहरु धमाधम स्वदेश फर्किरहेकाछन् । यस्तो अवस्थामा नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिनसक्ने भन्दै यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेला, महोत्सव, सेमनिार र भीडभाड नगर्न आग्रह गरिसकेकोछ ।
विशेषगरि भारतीय सीमासंग जोडिएका जिल्लामा कोरोना भाइरसको दोस्रो लहरको जोखिम उच्च देखिएकोछ । यसअघि सुदूरपश्चिम क्षेत्रमा भारतबाट आएका ब्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि अहिले सो क्षेत्रमा कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाइएकोछ ।
यता बाँकेको नेपाल–भारत सीमा नाकामा समेत बाँके प्रशासनले उच्च सर्तकता अपनाएकोछ । भारतका केही शहरमा कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि नेपालगन्ज नाका हुदै नेपाल भित्रिनेलाई आजदेखि स्वास्थ्य जाँच समेत सुरु गरिउकोछ ।
भारतबाट नेपाल आउने सर्वसाधरणलाई सीमामै एन्टिजेन परीक्षण शुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
उनका अनुसार, भारतबाट आउने व्यक्तिको आजदेखि एन्टिजेन जाँच गरिने थालेको हो ।
‘भारतमा नयाँ लहरको संक्रमण फैलिने क्रम बढ्दो छ । हामीले भारतबाट आउनेलाई नाकामा थर्मल गनले ज्वरो नाप्दैछौं’, चन्दले भने ‘ज्वरो देखिएका व्यक्तिको एन्टिजेन परीक्षण गरिने छ ।’ एन्टिजेन परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरस छ कि छैन पत्ता लाग्ने उनको दावी छ ।
रोजगारीको शिलशिलामा भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु त्यहाँ भाइरस संक्रमणको डर तथा लकडाउनका कारण स्वदेश फर्किने क्रम बढेको छ । हिंजोआज दैनिक ७ सय देखि एकहजार व्यक्तिहरु स्वदेश फर्किरहेका छन् । शंकास्पद व्यक्तिहरुलाई एन्टिजेनमार्फत कोरोना पुष्टि गरिने छ ।
त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासँग एकहजार किट छ । महाशाखाले स्वास्थ्य कार्यालयलाई तीन हजार एन्टिजेन किट पठाएको थियो । त्योमध्ये उपमहानगरपालिकालाई हजार किट दिइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । बाँकी किट अन्य पालिकालाई बाँडिएको छ ।
अवस्था हेरेर एन्टिजेन किट प्रयोग गर्न पालिकाका स्वास्थ्य शाखालाई भनिएको पनि उनले जानकारी दिए । शंकास्पद व्यक्तिहरुलाई मात्र परीक्षण गरिने भएकाले एन्टिजेन किटको तत्काल अभाव नहुने स्वास्थ्य शाखा प्रमुख चन्दको दावी छ ।
नेपालगन्जको जमुनाह नाकामा स्थापना गरिएको ल्याबसहितको हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृतसहित ६ जना कर्मचारी खटाएकोछ । तीमध्ये ल्याब टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिसकेका छन् ।
सरकारले देशका १२ वटा नाकामा मेडिकल अधिकृतसहितको दरबन्दी सिर्जना गरेर सुविधा सम्पन्न हेल्थडेस्क राख्ने निर्णय गरेको थियो । त्यसमा नेपालगन्ज नाकामा पनि परेको हो ।