भारतबाट नेपाल आउनेमा संक्रमण देखिन थाल्यो, रोकिएन सीमामा सर्वसाधरणको भीड


भारतबाट नेपाल आउनेमा संक्रमण देखिन थाल्यो, रोकिएन सीमामा सर्वसाधरणको भीड

नेपालगन्ज १४ चैत : छिमेकी देश भारतमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण तिब्ररुपमा फैलिएपछि यतिबेला भारतका विभिन्न स्थानमा रहेका नेपाली घर फर्किने क्रम बढेकोछ ।

भारतका विभिन्न क्षेत्रमा रहेका नेपालीहरु स्वदेश फर्किन थालेपछि नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिनसक्ने भन्दै यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सर्तकता अपनाउन आग्रह समेत गरेको थियो ।

नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सरकारले सीमावर्ती क्षेत्रमा उच्च सर्तकता अपनाउदै नयाँ खाले कोरोना भाइरस संक्रमण रोकथाम प्रयास गरिरहँदा शुक्रबार मात्रै भारतको गुजरातबाट फर्किएका एक नेपाली युवामा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपालमा कोरोनाको दोस्रो लहर फैलिन सक्ने भन्दै चिन्ता र चासो ब्यक्त हुन थालेकोछ ।

नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकामा गरीएको परिक्षणका क्रममा नेपालगन्जको जमुनाह नाका हुँदै नेपाल प्रवेश गरेका रोल्पाका ३० वर्षिय पुरुषलाई कोरोना पुष्टि भएपछि ती युवालाई एम्बुलेन्स मार्फत सम्बन्धित जिल्लामा पठाईएकोछ । ती संक्रमित युवालाई रोल्पाकै आइसोलेसनमा राखिएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

तर, कोरोना संक्रमण बढेपछि भारतबाट नेपाल फर्किन थालेका नेपाली र बाँकेको प्रशासनले उनीहरुको स्वास्थ्यलाई लिएर चासो नदिएको गुनासो पनि बढ्न थालेकोछ ।
दिनहुँ विभिन्न बहानामा सीमावर्ती बजार रुपैडिहामा लाग्ने भीडले पनि बाँके प्रशासनको फितलो ब्यवस्थापन र आम नागरिकले स्वास्थ्य सम्बन्धि सतर्कता अपनाउन नमानेको प्रष्ट हुन्छ ।

अझ नेपाल–भारत सीमानाकामा कुनै स्वास्थ्य परीक्षण नगराएरै धमाधम नेपाल भित्रिरहेकाछन् । यसरी नेपाल भित्रिने आम सर्वसाधरणलाई सीमामा राखिएको हेल्थ डेस्कका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले समते कुनै चासो दिइरहेकाछैनन् ।

भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेपछि कामका लागि भारतमा रहेका नेपाली डराएर नेपाल फर्किने क्रम बढेकोछ । गत वर्ष जस्तै कोरोनाको महामारी फैलिन सक्ने भन्दै धेरै नेपालीले यतिबेलदा त्रासमा घर फर्किन थालेकाछन् ।

अहिले भारत जानेभन्दा स्वदेश फर्किने नेपालीको संख्या धेरै भएको ईलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज सई विष्णु गिरि बताउँछन् ।

उनले दैनिक सरदर सात सय नेपाली भारतबाट स्वदेश फर्किने गरेको बताए । लकडाउनको हल्लासँगै अन्नपात स्याहार्ने समय भएकोले पनि नेपाली आउने क्रम बढेको उनको भनाई छ । अन्नपात स्याहार्ने र धान रोप्ने, मकै छर्ने समय हो । यो समयमा कामका लागि भारत गएकाहरु फर्किने समय पनि हो, तर फर्किने नेपालीमा लकडाउन र कोरोनाको सन्त्रास पनि देखिन्छ,’ सई गिरिले भने ।