नेपालगन्ज १५ चैत : कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवारभित्रै होली खेल्न आग्रह गरेको छ । तर पनि देशभर होली पर्व धुमधामका साथ मनाइदैछ ।
होली पर्वमा दिनभर खेलिने रङले तपाईंको अनुहारमा विभिन्न असर पर्न सक्छ । होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उड्नुका साथै घाउखटिरा समेत आउन सक्छ ।
अनुहारको छाला निकै संवेदनशील हुन्छ । यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ ।
होलीको रंगले हुनसक्ने असर
– एलर्जी हुने ।
– पानीको फोका आउने ।
– छाला पत्र–पत्र भएर निस्किने ।
– आँखा तथा मुख सुन्निने ।
– छाला पोल्ने समस्या देखिन सक्छ ।
होली खेलेपछि छालाको हेरचाह यसरी गरौं
– रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय बस्नु हुँदै ।
– होली खेलिसकेपछि साबुनपानीले राम्रोसँग धुनुपर्छ ।
– अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने ।
– रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन ।
– रंग नमेटिएमा मोस्चलाइजर क्रिमको सहायताले विस्तारै मेट्न सकिन्छ ।
– रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चलाइजर क्रिम लगाउनुपर्छ ।
– रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ ।
यद्यपी होली खेल्दा विभिन्न सावधानी अपनाउनु पर्छ । होलीको रङ छ्याप्दा वा सोबाट बच्न खोज्दा हुनसक्ने दुर्घटनाले ज्यानसमेत जानसक्ने भएकाले यसतर्फ सजग र सचेत हुन जरुरीछ ।