नेपालगन्ज १७ चैत : वायुमण्डलमा देखिएको मौसमको प्रतिकूलका कारण सरकारले आजदेखि देशभरका विद्यालय बन्द गरेकोछ ।
सरकारले आगामी चार दिनसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा हिजो सोमबार बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।
बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डाक्टर सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डाक्टर हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
पछिल्ला चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको छ । जल तथा मौसमविद्का अनुसार देशभर डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको जनाएका छन् । साथै वायुमण्डलको तल्लो तहमा धुवाँ र त्योभन्दा माथि बादल परेकोले चैतमा चिसो बढेको मौसमविदहरुको भनाई छ ।
उता भारतबाट आएका केही धुलोका कणले गर्दा घामलाई छेकिएको छ । घाम छेकिएपछि स्वाभाविक रुपमा तापक्रम घटेको जनाइएको छ ।
यसैबीच, जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।
मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।