File Photo
नेपालगन्ज १८ चैत : भारतमा संक्रमण बढेपछि नेपालीहरु घर फर्किरहेका छन् । यो संख्या दिनहुँ बढेर आएकोछ । पछिल्ला दिनमा दैनिक भारतबाट आउनेहरुमा संक्रमण देखिन थालेको छ ।
भारतबाट आउनेको संख्या पनि बढ्दो छ । शंकास्पदहरुको नमुना जाँच गर्दा संक्रमण पनि देखिएको छ,’ जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले भने, ‘यही क्रम जारी रहे फेरि पुरानै अवस्था नआउला भन्न सकिँदैन । सीमामाजाँचमा कडाइ गर्नुका साथै ‘अलर्ट’ रहनु पर्ने अवस्था छ ।’
साविक मध्य तथा सुदूरपश्चिमको मुख्य नाका नेपालगन्जस्थित जमुनाह नाका हो । जहाँबाट दैनिक हजारौँ यात्रु ओहोरदोहोर गरिरहेकाछन् । सीमा नाकामा राखिएको एउटा मात्र हेल्थ डेस्क पर्याप्त नभएको उनी बताउँछन् ।
सीमामा टाढाबाट आउनेहरु र शंकास्पदहरुलाई एन्टिजेन परीक्षण गर्ने गरिएको छ । पोजिटिभ देखिए आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । यस्तै सीमामा अत्यावश्यक बाहेकका अन्य कार्य बन्द गरिएकोछ । तर, दिनहुँ गरिने चेकजाँचमा कोरोना पोजेटिभ पाइने गरेकोछ ।
जमुनाह नाका भएर नेपाल प्रवेश गरेका एक शंकास्पद ब्यक्तिको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ पाइयो । दैलेख दुल्लु नगरपालिका वडा नम्बर– ४ शान्तिनगर घर भएका ४० वर्षका पुरुषमा कोरोना पुस्टि भएको कोरोना फोकल पर्शन ओलीले बताए ।
यसअघि हिजो मङ्गलबार भारतको महाराष्ट्रको मुम्बईबाट आएका दैलेखको आठवीसकोट –८ का ३४ वर्षका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतबाट नेपाल आउने रोल्पा, बर्दिया र दैलेखका एक/एक जना ब्यक्तिमा यसअघि कोरोना पुष्टि भइसकेकोछ । गत १३ चैतमा भारतको गुजरातबाट आएका रोल्पाका पुरुषलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दोस्रो दिन चैत १४ गते महाराष्ट्रबाट आएका बर्दियाका ४१ वर्षका पुरुषलाई कोरोना भएको थियो ।
यसैबीच, भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको ४५ जनाको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना फोकल पर्शन ओलीका अनुसार बाँकेका १३, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक÷एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकेमा बुधवार आएको रिपोर्टसँगै ४ हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र जिल्ला बाहिरका ८८ गरि १ सय ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेकोछ ।