करोडौं लगानी भित्रियो भेरी अस्पतालमा


करोडौं लगानी भित्रियो भेरी अस्पतालमा

नेपालगन्ज : भेरी अस्पतालको स्तरोन्नतिसँगै पूर्वाधार निर्माणका कामले गति लिन थालेका छन् । अस्पताल हाताभित्र इन्डोर ब्लकको निर्माण कार्य सुरु भएको छ । चार परिवार नर्सिङ आवास निर्माणको काम सकिएको छ ।

३२ करोड ३१ लाख ३ हजार ७९३ लागतमा निर्माण हुने इन्डोर ब्लक तथा ६९ लाख ३१ हजार ६५५ लागतमा निर्माण सकिएको नर्सिङ आवास भवनको मंगलबार शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शिलन्यास तथा उद्घाटन गरेका छन् ।

इन्डोर ब्लक निर्माण सुरु भइसकेकोले अस्पतालमा आउने बिरामीहरुले पूर्वाधार अभावमा सेवाबाट प्रभावित हुन नपर्ने मन्त्री राईले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले अस्पतालको पूर्वाधार विकासमा प्राथमिकतामा राखेपछि शहरी विकास मन्त्रालयले कार्यान्वयनलाई तीव्रता दिनेछ ।’

अस्पतालको स्तरवृद्धिसँगै पूर्वाधार निर्माणका लागि आफूले निरन्तर प्रयत्न गरिरहेको उनले बताए । मन्त्री राईले भेरी अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गरिने बताए । अस्पतालको पूर्वाधार विकासमा संघीय सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले भने, ‘पूर्वाधार निर्माणमा ढिलासुस्ती नहोस् । समयमै काम सक्न निर्माण कम्पनीले ध्यान दिनुपर्छ । बिशेषज्ञ सेवा प्रदान गर्न संघीय सरकार प्रतिबद्ध छ ।’

स्वास्थ्य मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको थियो ।

अहिले एक सय ५० शैय्या रहेको अस्पतालमा विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता देखिएपछि निर्माण सुरु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर राजन पाण्डे बताउँछन् ।

अस्पताल शिलन्यास तथा उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य दिदै निमित्त मेडिकल सुपेरिटेन्ट डाक्टर पाण्डेले अस्पताल सुधारका लागि आफू लागि पर्ने बताएकाछन् । उनले भौतिक पुर्वाधार तथा चिकित्सक सहित देशको ठूलो अस्पताल वीर अस्पताल पछि दोस्रो भेरी अस्पतालबाट पश्चिम नेपालका नागरिकले स्वास्थ्य लाभ लिइरहेको बताए ।

सो कार्यक्रममा प्रदेश सांसद विजय यादव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।