नेपालमा नयाँ भेरियन्टको कोरोना देखियो


नेपालमा नयाँ भेरियन्टको कोरोना देखियो

नेपालगन्ज २२ चैत : सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकार (भेरियन्ट) को कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए ।

भारतबाट नेपाल आएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको हो । तर, उनीहरुमा देखिएको भेरियन्ट कुन प्रकारका हो भनेर पुष्टि भने हुन नसकेको जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

संक्रमित तीनै जना होम आइसोलेसनमा रहेको जनाएको छ ।

पछिल्लो समयमा भारतबाट नेपाल आउने धेरैमा कोरोना संक्रमण देखिन थालेको छ । भारतका विभिन्न राज्यमा नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएको छ । जसका कारण नेपाल थप जोखिममा परेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा २ हजार ७ सय २७ जनाको पीसिआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८१ हजार ८ सय ३२ पुगेको छ ।

गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ । हाल ५९ जना क्वारेन्टिनमा छन् । गत २४ घण्टामा १ सय ६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ जना पुगेको मन्त्रालयले जनाएकोछ ।