थपिँदै कोरोना संक्रमित : भेरी अस्पतालमा उपचारत २७ जनाको अवस्था चिन्ताजनक

देशभर थपिए ३३७ संक्रमित


थपिँदै कोरोना संक्रमित : भेरी अस्पतालमा उपचारत २७ जनाको अवस्था चिन्ताजनक

नेपालगन्ज २८ चैत : भारतमा देखिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नेपाल अछुतो रहेन । बाँकेको नेपालगन्ज स्थित नेपाल–भारत सीमानाका जमुनाह भएर नेपाल प्रवेश गर्नेहरुमा दिनहुँ कोरोना संक्रमण पुष्टि भइरहेकोछ ।

खुला सीमानाका कारण आउजाउ सहज भएका कारण बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । यद्यपी नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कमा भारतबाट आउने नेपालीको स्वाब संकलन गरि एन्टीजेन परीक्षण गर्दा दिनहुँ संक्रमितको संख्या थपिदै गएको छ ।

भारतको विभिन्न सहरबाट आउँदै गरेका सय जनाको स्वाब परीक्षण गर्दा हालसम्म सात जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

शंकास्पद लागेका ब्यक्तिहरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । यसरी कोरोना पुष्टि हुनेमा दैलेखका तीन, बर्दियाका दुई, बाँके र रोल्पाका एक–एक जना रहेका छन् । दैलेख, रोल्पा र बर्दियाका एक–एक जना संक्रमित आ–आफ्नो जिल्लाको होम आइसोलेसनमा बस्ने गरि ब्यवस्थापन गरिएको छ । बाँकी दुई जनालाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको फोकल पर्शन ओलीले बताए ।

‘पहिलो चरणमा फेला परेका पाँच जनालाई होम आइसोलेसनमा बस्ने गरि एम्बुलेन्समार्फत सम्बन्धित जिल्लामा पठाएका छौँ,’ उनले सेतोखरीलाई जानकारी दिए ।

फोकल पर्शन ओलीका अनुसार बाँकेका विभिन्न आइसोलेसनमा यतिबेला ८० जना कोरोना संक्रमित रहेकाछन् । उनका अनुसार भेरी अस्पतालमा ६ महिला र सात पुरुष गरि १३ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् ।

त्यसैगरि, नेपालगन्ज होम आइसोलेसनमा ३३ महिला २१ पुरुष गरि ५४ जना, कोहलपुर आइसोलेसनमा चार महिला र पाँच पुरुष गरि ९ जना, खजुरा, बैजनाथ, राप्तीसोनारी तथा डुडुवा गाउँपालिकाको होम आइसोलेसनमा एक–एक जना कोरोना संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका सर्वसाधारणलाई १० दिन होम आइसोलेसनमा बस्ने नियम बनाइएको छ ।

२७ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक

भेरी अस्पतालमा पीसिआर जाँच गराउँदा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि बढ्दै गएको छ । गत चैत २४ गतेमात्रै नेपालगन्जका १० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ६ र बागेश्वरी प्याथोलोजीमा चार जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको कोरोना फोकल पर्सन ओलीले बताए ।

भेरी अस्पतालमा रहेका ८० मध्ये २७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उनले बताए । ‘यसैगरि कोरोना संक्रमित संख्या बढ्दै गए भेरी अस्पतालको आइसोलेसनले धान्न नसक्ने उनी बताउँछन् । उनले भने, ‘समयमा ध्यान नदिने हो भने अवस्था गम्भीर हुनसक्छ ।’

दुई महिना अघि भेरी अस्पतालको आइसोलेसनमा ८–१० जनामात्रै थिए । अहिले सक्रिय संक्रमितको संख्या ८० पुगेको उनले बताए । ‘संक्रमितको संख्या घट्दै गएपछि आइसोलेसन बन्द हुने अवस्थामा पुगेको थियो । पछिल्लो १५ दिनमा बढेर ८० जना पुगेका छन्,’ उनले भने ।

उनका अनुसार यसअघि शनिबार बन्द गरिएको भेरी अस्पतालको ल्याब शनिबार पनि खुला गरिएकोछ । कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि बन्द गरिएको पीसिआर जाँच ल्याब शनिबार पनि खुला गरिएकोछ ।

देशभर थपिए ३३७ संक्रमित

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर थप ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो । यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो ।

छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सो बीचमा १ जनाको मृत्यु भएको छ भने १५१ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यस्तै हालसम्म ३ हजार ३९ जनाको मृत्यु हुँदा सक्रिय संक्रमित २८ सय जना रहेका छन् ।