देशभर थप ५ जनाको मृत्यु, ५१७ संक्रमित थपिए

दैनिक ११ हजार संक्रमित थपिन सक्छन् : स्वास्थ्यमन्त्री


देशभर थप ५ जनाको मृत्यु, ५१७ संक्रमित थपिए

नेपालगन्ज ३१ चैत : नेपालमा थप ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६० जना पीसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन् । यसअघि सोमबार ५ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय ३ जनाको पीसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पीसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ । हाल ८५ जना क्वारेन्टिनमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

दैनिक ११ हजार संक्रमित थपिन सक्छन्: स्वास्थ्यमन्त्री

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेको दरमा कोभिड–१९ को संक्रमण बढ्दै गए आगामी असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने बताएको छ ।
मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको संक्रमण दरलाई हेरेर यो प्रक्षेपण गरिएको बताएका हुन् ।

‘दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ । त्यसका लागि अहिले नै हामीले आवश्यक तयारी गरिरहेका छौँ’, उनले भने ।
मन्त्री त्रिपाठीले भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्न लागिएको पनि जानकारी दिए । यस्तै सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेको पनि उनले बताए ।

मन्त्री त्रिपाठीले स्वास्थ्य सुरक्षा सामग्री अपुग भएका अस्पतालहरूमा सुरक्षा कवच, औषधिलगायतका सामग्री छिट्टै थप गरिने बताए ।

भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएसंगै नेपाल आउनेहरुको संख्या दिनहुँ बढिरहेकोछ । यसरी नेपाल प्रवेश गर्नेमा कोरोना भाइरस संक्रमण पनि भेटिने क्रम बढ्दोछ ।