नेपालगन्ज ३१ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो ।
यो अवधिमा अनलाइनमार्फत् पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएका र बालबालिकाहरु उच्च जोखिममा रहेकाले विद्यालय बन्द गर्न सिफारिस गरिएको बताए ।
उनले उक्त विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा छलफल भएको बताए । यद्यपि यस विषयमा औपचारिक निर्णय समेत भइसकेको छैन । उक्त अवधिमा अनलाइन कक्षा मार्फत पठनपाठन गराउन मन्त्रालयको सुझाव छ ।
अहिले देखिएको नयाँ भेरिएन्ट युवा र कम उमेर समूहमा देखिएको भन्दै उनले विद्यालय बन्द गरेर अनलाइन पठनपाठन गर्न सुझाव दिइएको बताए ।
असार अन्त्यसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको छ ।
अहिले देखिएको संक्रमणको दरको हिसाबले यस्तो प्रक्षेपण गरिएको मन्त्री त्रिपाठीले बताए । जेठ अन्तिम र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने मन्त्री त्रिपाठीले मन्त्रालयको प्रक्षेपण सुनाए ।
युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो रहेको बताउँदै उनले संक्रमणको क्रम भंग गर्न उपत्यकासहित देशका ठूला सहरहरूमा एक महिना विद्यालय बन्द गरेर अनलाई कक्षा सञ्चालन गर्न सिफारिस गरिएको बताए ।